१५ असोज, काठमाडौँ – लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीबार झिनो सुधार देखिएको छ। साताको चौथो कारोबार दिन नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा थामिएको छ। बजारमा झिनो अंकको सुधार देखिए पनि परिसूचक २६०० को मनोवैज्ञानिक विन्दुभन्दा माथि भने उक्लन सकेन।
परिसूचकमा सुस्तता देखिए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ। बिहीबार बजारमा ३५३ कम्पनीका १ करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर ५१ हजार ७४५ पटकको खरिद-बिक्रीमा कुल ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार बजारमा ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको थियो।
उपसमूह र कम्पनीहरूको उतारचढाव
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये केवल ४ उपसमूह (बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत्) को परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।
सिद्धार्थ बैंकको सर्वाधिक कारोबार
बिहीबार सबैभन्दा बढी सिद्धार्थ बैंक लिमिटेडको शेयर कारोबार भएको छ। बैंकले आगामी साधारण सभाका लागि बुक क्लोज गर्नुअघि लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले लगानीकर्ताको आकर्षण बढेको हो। सिद्धार्थ बैंकको मात्रै ३० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। सर्वाधिक कारोबार हुने दोस्रो स्थानमा २२ करोड ८१ लाख रुपैयाँसहित अपी पावर कम्पनी रहेको छ। समग्र बजारमा १३९ कम्पनीको शेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ र १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया