×

हिम्लुङ हिमालमा भयानक हिमपहिरो: थप ८ आरोहीको शव भेटियो, मृतकको संख्या १५ पुग्यो

images

१५ असोज, काठमाडौँ – मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको विनाशकारी हिमपहिरोमा हराइरहेकामध्ये बिहीबार थप आठ जनाको शव फेला परेको छ। योसँगै गत असोज ११ गते बिहान आधार शिविर (बेसक्याम्प) मा गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोही एवं सहयोगीहरूको संख्या १५ पुगेको छ। 

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान चार जना र दिउँसो थप चार जना गरी आठ जनाको शव हिउँको लेदो र भग्नावशेषबाट बाहिर निकालिएको हो। यसअघि बुधबारसम्म सात जनाको शव भेटिइसकेको थियो। हिमपहिरोमा परेका १६ जनामध्ये अब केवल एक जना मात्रै बेपत्ता छन् र उनको खोजी कार्य तीव्र पारिएको छ। 

बिहीबार फेला पारिएका शवहरूमध्ये दुई वटालाई जिल्ला सदरमुकाम चामे र ६ वटा शवलाई नजिकैको फूगाउँसम्म ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएका यी शवहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौँ पठाउने तयारी भइरहेको प्रशासनले जनाएको छ। रात परेका कारण बिहीबार अन्य शवहरू चामे ल्याउन नसकिएको र शुक्रबार बिहानैदेखि पुनः उडान गरिने सहायक प्रजिअ पौडेलले जानकारी दिए। 

७,१२६ मिटर उचाइको हिम्लुङ हिमालमा विदेशी आरोहीहरू आउनुअघि बाटो बनाउन र क्याम्प व्यवस्थापन गर्न पुगेका नेपाली गाइड र किचन स्टाफहरू हिमपहिरोको चपेटामा परेका थिए। मौसम प्रतिकूल हुँदा सुरुका दिनमा उद्धारमा कठिनाइ भए पनि पछिल्ला दिनहरूमा मौसम सफा भएसँगै खोजीले गति लिएको हो। 

अहिले घटनास्थलमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन (NNMGA) का प्रशिक्षक पासाङ काजी शेर्पाको नेतृत्वमा ११ सदस्यीय विशेष टोलीले ४ मिटरभन्दा गहिरो हिउँ खनेर खोजी कार्य जारी राखेको छ। 

यसअघि फेला परेका मृतकहरूमध्ये आश गुरुङ (गोरखा), सुरज राई (खोटाङ), कमल बुढा (रुकुम), वीरेन्द्र गुरुङ (गोरखा), घनश्याम राई (खोटाङ) र संखुवासभाका छेबी भोटे तथा पासाङ भोटेको पहिचान भइसकेको छ भने बिहीबार भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको छ।

बिहीबार १५ असोज २०८३ ०८:१९ PM मा प्रकाशित

प्रतिक्रिया