×

पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

images

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेर अघि भारततर्फ लागेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले उनको प्रतिक्रिया लिन खोजे पनि लामिछानेले भारतबाट फर्किएपछि मात्र कुरा गर्ने भन्दै थप विवरण दिन मानेनन्। भ्रमण टोलीमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, उनकी पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन्।

पार्टी प्रवक्ता मनिष झाका अनुसार लामिछानेको भारत भ्रमण जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म हुनेछ। त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन्। यसका साथै उनले अयोध्याको भ्रमण गर्ने कार्यक्रम समेत रहेको प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ।

सोमबार १८ जेठ २०८३ ०१:२१ PM मा प्रकाशित

प्रतिक्रिया