×

‘वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा मेराे घर सरकारकाे नाममा पास गरिदिन्छु’ : सांसद श्रीवास्तव

images

लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका सांसद विमलप्रसाद श्रीवास्तवले आउँदाे आर्थिक वर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नुभएको छ । 

आज बुधवारकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताउनुभयो । उहाँले आउँदाे आर्थिक वर्षभित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यसपालिको बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने भन्ने उद्घोष सुन्यौँ, त्यो स्वागतयोग्य छ ।यदि याे साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने मेरो नामको एउटा घर छ, त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भए पनि एक/डेढ करोड रुपैयाँ जति पैसा हुन्छ, म त्याे रकम सरकारलाई सहयोग गर्ने प्रतिज्ञा गर्दछु ।’

सांसद श्रीवास्तवले आउँदाे आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरूको असन्तुष्टि रहेको उल्लेख गर्दै बजेट झारा टार्ने किसिमले मात्रै ल्याइएको बताउनुभयो । 

बुधबार १८ जेठ २०७९ ०२:०० PM मा प्रकाशित

प्रतिक्रिया