काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । आज काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्याउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।
कांग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहेपनि सरकारको नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बताए । नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको उनको दाबी छ । नेता सिटौलाले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली कांग्रेसले सबै राजनीतिक दलहरूलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताए ।
‘‘जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नुछ । गरिब जनताको आर्थिक प्रगति गर्नुछ । पछाडि परेका जनतालाई अगाडि ल्याउनुछ । दलित, महिला, पिछडिएका क्षेत्रका तमाम समस्याहरु समाधान गरेर आर्थिक प्रगतिको पक्षमा कांग्रेस पार्टीले डोर्याउनु छ, सिङ्गो नेपाललाई ।,’’ नेता सिटौलाले भने ‘‘अहिले हामी संयुक्त सरकारमा छौँ । ठुला, ठुला पार्टीहरु कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौँ । प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ । राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला तर नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ ।’’
प्रतिक्रिया