काठमाडौं । रुस र युक्रेनले सयौं युद्धबन्दी साटासाट गरेका छन् । संयुक्त अरब इमिरेट्स यूएईको मध्यस्थतामा भएको सम्झौताअनुसार रुस र युक्रेनले युद्धबन्दी साटासाट गरेका हुन् । दुवै मुलुकबीच युद्ध सुरु भएयता ५९औँ पटक युद्धबन्दी साटासाट भएको बताइएको छ ।
रुसी रक्षा मन्त्रालयले १ सय ५० युक्रेनी सैनिकको बदलामा बराबर संख्यामा रुसी सैनिक सुपुर्दगी गरेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले १ सय ८९ युक्रेनी स्वदेश फर्किएको जानकारी दिनुभएको छ । जसमा दर्जनौं सैनिक, सीमा गार्ड र मारियोपोलका दुई नागरिक छन् । बीबीसीका अनुसार बन्दी साटासाटपछि जेलेन्स्कीले रुसको कैदबाट मुक्त गर्न काम गरिरहेको बताउनुभएको छ ।
साटासाटको क्रममा केही मानिस पहेलो र नीलो युक्रेनी झण्डा बोकेको देखिन्छन् । यता, रुसी रक्षा मन्त्रालयले हालै रिहा भएका रुसी सैनिकलाई बेलारुसतर्फ लगिएको जनाएको छ । उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ भने आफ्ना परिवारसँग सम्पर्कको मौका दिइएको बताएको छ ।
बन्दी साटासाट पछि मस्कोले अहिलेसम्म ३ हजार ९ सय ५६ युक्रेनीलाई रिहा गरेको किएभले जनाएको छ । जसमा धेरै सैनिक र सर्वसाधारण छन् । यस्तै रुसी मानवअधिकार आयुक्त तात्याना मोस्काल्कोभाले एउटा भिडियो सार्वजनिक गर्दै सैन्य पोशाकमा सैनिकहरू आफ्नो परिवारसँग नयाँ वर्ष मनाउने उल्लेख गर्नुभएको छ ।
युक्रेनले रुसद्वारा कब्जामा लिएका सैनिकको संख्या अहिलेसम्म खुलाएको छैन । तर ८ हजार भन्दाबढी युक्रेनी नागरिक रूसी कैदमा रहेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया