×

स्पेनमा बाढी- ९५ जनाको मृत्यु

images

काठमाडौं । स्पेनमा दशकौं यता नदेखिएको भयानक बाढीका कारण हालसम्म कम्तिमा ९५ जनाले ज्यान गुमाएका छन्, भने उद्धार कार्यमा सैनिकहरू अहोरात्र लागेका छन् । बेपत्ता व्यक्तिहरूको यकिन संख्या अज्ञात छ, र मुख्यत: भ्यालेन्सियाका क्षेत्रहरूबाट मृतकहरूको सङ्ख्या बढेको बताइन्छ, जहाँ केही घण्टामा एक वर्षभरको पानी परेको छ ।

तीव्र वर्षापछि मंगलबारको आएको बाढीले पुल र भवनहरू समेत बगाएको थियो, जसले गर्दा मानिसहरू घरका छत र रूखहरूमा चढेर ज्यान बचाउन बाध्य भएका थिए । बाढीको प्रवाहले माटो, भग्नावशेष र गाडीहरू सडकमा छरेको छ, जसका कारण सडक आवागमन ठप्प भएको छ ।

बढ्दो पानीले विद्युत् आपूर्ति समेत बाधित भएपछि धेरै मानिस अन्धकारमा बस्न बाध्य छन् । उस्तै विषम मौसमी अवस्था कायमै रहेका कारण उद्धार कार्यमा चुनौती थपिएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिने राष्ट्रिय शोक घोषणा गर्दै बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले बुधबार राष्ट्रलाई सम्बोधन गर्दै नागरिकहरूलाई सचेत रहन आग्रह गर्दै पुनर्स्थापनाको पूर्ण प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘संपूर्ण स्पेन तपाईँहरूसँग दुखित छ… हामी तपाईँहरूलाई यस कठिन घडीमा एक्लो छोड्ने छैनौँ ।’

बिहीबार १५ कात्तिक २०८१ ११:५८ AM मा प्रकाशित

प्रतिक्रिया