×

सत्ता गठबन्धनको बैठक : चुनावी तालमेल गर्ने औपचारिक निर्णय, स्थानीय निर्वाचनका लागि ५ दलीय संयन्त्र बन्ने

images

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले त्यस्तो संयन्त्र बनाउने निर्णय गरेको बैठकमा सहभागी काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए ।

त्यसका निमित्त दलहरूका प्रदेशमा प्रदेश इन्चार्ज, जिल्लामा जिल्ला स्तरीय नेता र गाउँपालिकामा पनि प्रमुखहरुको संयन्त्र बन्छ’, सञ्चारमन्त्री समेत रहेका कार्कीले भने ।  तीनै तहका संयन्त्रले वस्तुगत तथ्य पेश गरेपछि त्यसबारे थप निर्णय गर्ने बताए । कार्कीले राष्ट्रिय सभा चुनावमा भएको जस्तै तालमेल स्थानीय तह चुनावमा पनि हुने जानकारी दिए ।

उनले भने, ‘पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएर स्थानीय निर्वाचनको सामना गर्छ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गर्न प्रदेश, जिल्ला र पालिकास्तरमा कार्यदल बनाउने निर्णय समेत गरेको छ ।

बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री  कार्कीका अनुसार प्रदेश, जिल्ला र पालिका स्तरमा ५ वटै दलका नेताहरू सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ ।उनले ती संयन्त्रलाई आगामी चैत २२ गतेभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको पनि जानकारी दिए  ।

कार्कीका अनुसार आगामी स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेरै चुनावमा जाने निर्णय भएको पनि जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणबारे जानकारी गराएका थिए । त्यस्तै गठबन्धनमा रहेका दल नेताहरूले भ्रमणको सफलताको शुभकामना दिएको मन्त्री कार्कीले बताए ।

बिहीबार १७ चैत २०७८ ०१:२३ PM मा प्रकाशित

प्रतिक्रिया