×

देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ - प्रचण्ड

images

विराटनगर -  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टीलाई जोडेर गरिएको प्रचारप्रति गम्भीर आपत्ति जनाएका छन् । झापाको गौरीगञ्जमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले पार्टीले सुशासनका लागि उठाएको एजेन्डालाई कमजोर बनाउन यस्तो प्रायोजित प्रचार गरिएको बताएका हुन् ।  

साथै आफ्नो पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको बताए । ‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरू कुनै विकल्प छैन’, उनले भने, ‘तपाईँहरूको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ ।’

देशैभरि माओवादी केन्द्रप्रति नयाँ आशा र भरोसा बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले केही समयअघिको निर्वाचनबाट कोशी प्रदेशमा माओवादी केन्द्र पहिलो बनेको र देशभर पनि उल्लेख्य प्रगति भएको बताए । यो २०८४ को निर्वाचनको संकेत भएको उल्लेख गर्दै उनले माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने गलत भाष्य अब खारेज भएको बताए । 

अध्यक्ष प्रचण्डले अहिले नेपाली जनताले प्रयोग गर्न पाएको राजनीतिक अधिकार माओवादीकै कारण सम्भव भएको उल्लेख गर्दै बाँकी राजनीतिक अधिकारलाई पूर्णता दिने, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने बताए । झापाको कोच बाहुल्य क्षेत्रमा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संविधानले स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था गरेको छ । म आज कोच समुदायलाई अब स्वायत्त, विशेष र संरक्षित क्षेत्रको अभ्यासमार्फत अघि बढ्न आह्वान गर्न चाहन्छु।’

अध्यक्ष दाहालले १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा माओवादी पार्टी र नेतृत्वलाई जोड्ने प्रयास भइरहेको बताउँदै उनले यस्तो प्रचारलाई अनावश्यक र योजनाबद्ध षड्यन्त्रको संज्ञा दिए । सार्वजनिक सम्पत्तिलाई राज्यको मातहतमा ल्याउन आफू र आफ्नो पार्टीले सधैँ साथ दिने भन्दै उनले थपे,‘ शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याउनुपर्छ, त्यसमा हाम्रो पूर्ण साथ रहनेछ ।’

अध्यक्ष दाहालले सरकारलाई चुनौती दिँदै भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, शेरादरबारको जग्गा सरकारको हो भने तुरुन्तै सरकारको नाममा ल्याऊ । तर झुटो राजनीति गरेर राजनीतिमा बेइमानीको प्रदर्शन नगर पनि भन्न चाहन्छु ।’

पृथ्वीनारायण शाहका पालामा नुवाकोटको शेराबेंसीमा बनेको दरबारको १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरिसकेको छ । हदबन्दीमाथिको जग्गा जोगाउन राजपरिवारका सदस्यहरूले खोलेको कम्पनीको स्वामित्व नाटकीय रूपमा विकेश श्रेष्ठको परिवारले लिएको सार्वजनिक भएको छ । माओवादी नेता श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल २०६५ मा प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए ।

नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएकाले सरकारका नाममा ल्याउन सीआईबीले सरकारलाई पत्राचार गरेको हो । त्यस्तै सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई पनि पत्र लेखिएको हो ।

सोमबार १५ पुस २०८१ ०८:५५ PM मा प्रकाशित

प्रतिक्रिया