काठमाडौं- काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको हो ।
बुधबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा नेपाल-बंगलादेशबीच फाइनल खेल हुँदैछ। दशरथ रंगशालामा टिकटको बिक्री सकिसकेको छ। अनलाइनबाट बिक्री गरिएको टिकट रोकेर अखिल नेपाल फुटबल संघ (एन्फा)ले भौतिक रूपमै टिकट बिक्री गरेको थियो। टिकट किन्न बुधबार बिहानैदेखि मानिसहरू लाइनमा लागेका थिए।
तर कतिपयले टिकट समेत पाउन सकेनन्। भारतविरूद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी दर्शक छिराएका कारण सुरक्षा खतरा बढेको भन्दै एन्फाले माउन्ट एभरेस्ट प्रालिसँगको सम्झौता रद्द गरेको थियो। सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । नेपाल र बंगलादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।
प्रतिक्रिया