×

प्रधानमन्त्री ओली भन्छन , एमाले नदी हो, यसमा सबै खोला मिसिन्छन

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरूको साझा उद्देश्य भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरूको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए। 

कार्यक्रममा ओलीले एमाले सबैको साझा पार्टी भएको बताए । 'एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको संगत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको संगत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईँहरूको एमालेमा आउने छनोट सही छ । तपाईँहरू नमुना हुनुपर्छ,' पार्टी प्रवेश गर्नेहरूलाई ओलीले भने, 'प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरू सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरूको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरू ब्रेक गर्नुछ र नयाँ-नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरूलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।'

ओलीले कामको प्रभाव छोड्ने नभई नतिजा निकाल्नुपर्ने बताए । ओलीले गलत मान्छेको संगतमा परेर समय खेर फाल्नुभन्दा सयमको सदुपयोग गर्न जरुरी रहेको उल्लेख गरे ।

‘युवाहरुलाई मेरो आग्रह के छ भने गलत संगतमा नपर्नुस् । मान्छे आफैं बिग्रिँदैन संगतले बिगारेको हुन्छ । कोही ड्रगिस आफैं भएको हुँदैन । संगतले नै बिगारेको हुन्छ,’ ओलीले भने, ‘कोही मान्छे अत्यन्त राम्रो भएर निस्किएको हुन्छ, त्यसमा अरूको गुण आएको हुन्छ । आमाबाट गुण आएको हुन्छ, बाउबाट आएको हुन्छ । साथीभाइबाट गुण आएको हुन्छ ।’

कार्यक्रममा नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गरेका थिए। सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत एमालेमा प्रवेश गरेका थिए। पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरु सारथि बन्ने उल्लेख गरे।
 

आइतबार​ १४ पुस २०८१ ०७:५२ PM मा प्रकाशित

प्रतिक्रिया