काठमाडौं । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए ।
प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै ती नेता कार्यकर्तालाई पक्राउ गरेको हो । नेपाल हाउस रेष्टुरेन्ट अगाडिबाट सांसद अशोककुमार चौधरीसहित कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। सभापति रवि लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।
आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् । यसअघि रास्वपाले तिहार भित्रिएसँगै आजबाट देशव्यापी रुपमा आन्दोलनबाट ब्याक हुने जनाएको थियो । रास्वपाले पोखराबाट आन्दोलनलाई काठमाडौं केन्द्रीत गरिरहेको छ। सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेविरूद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा पनि चलाइने भएको छ।
लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ। उनलाई बुटवल, पर्सा, वीरगन्ज र चितवनपछि काठमाडौं ल्याउने तयारी भएको छ।
प्रतिक्रिया