×

‘चुनावभन्दा पर्यटक आए पुग्छ’

images

गोरखा । कोही करु कुट्दै छन्। कोही उवा बत्ताउँदै छन्। कोही खाना पकाउँदै छन्। कोही पर्यटकको बाटो नियाल्दै छन्। मनासलु क्षेत्रमा पर्ने गोर्खाको उत्तरवर्ती अन्तिम हिमाली गाउँ साम्दोमा हिउँको सिरेटोसँगै पर्यटक र गाउँलेको चहलपहल देखिन्छ। तर यहाँ चुनावको रौनकचाहिँ कत्ति पनि देखिन्न।

‘फेरि चुनाव आयो र रु भाइटीकाअघिको एक साँझ साम्दोमा उवा बत्ताउँदै गरेकी इटन लामाले भनिन्, ‘हामीलाई त अहिले काम गरेरै फुर्सद छैन।’ मनासलु हिमालको काखमा पर्ने यस गाउँमा अहिले अन्न र पर्यटक भिœयाउने सिजन छ।

‘अन्न र पर्यटक दुवै हाम्रा देवता हुन्,’ उनले भनिन्, ‘ पर्यटकको भर लाग्छ तर नेताको चाहिँ लाग्दैन।’ नेताले बोलेका कुराको विश्वास लाग्न छाडेको उनले सुनाइन्। गत वैशाखमा भएको स्थानीय चुनावमा मत खसालेकी इटनले मंसिरमा हुने निर्वाचनमा पनि भोट हाल्न भने जाने बताइन्। ‘हिउँ परे पनि भोट हाल्नचाहिँ जाने हो,’ उनले भनिन्, ‘तर कसेल जित्छ, हार्छ हामीलाई चासो छैन।’ जितेर गएका नेताहरू अर्को चुनाव नआउँंदासम्म फर्केर नआउँदा नरमाइलो लाग्ने उनले बताइन्।

इटनको जस्तै बुझाइ छ, मकरबहादुर लामाको पनि। साम्दोमा किराना पसल चलाउँदै आएका उनले स्थानीयवासी खेतीपाती र पर्यटकको स्वागतमा व्यस्त रहेको बताए। ‘गाउँमा पर्यटक आउँदा होटलवालाको मात्र हैन, अन्यको पनि धेरथोर आम्दानी हुन्छ,’ उनले भने, ‘त्यसैले स्थानीयलाई चुनावभन्दा पनि पर्यटक आएको खुसी लाग्छ।’

चारैतिर हिमालको बीचमा रहेको यस सुन्दर गाउँमा पुग्दा पर्यटक निकै रमाउँछन्। ‘पर्यटक आँगनमा आउँदा देवता आएको जस्तो लाग्छ,’ मकरबहादुरले भने, ‘हाम्रा लागि पर्यटक सबै कुरा हुन्।’

साम्दोवासीको नेताहरूसँग ठुलो माग पनि छैन। पर्यटक हिँड्ने बाटो नभत्किदिए पुग्छ। भत्केको बाटो बनाइदिए हुन्छ। तर यसपटक अनगिन्ती ठाउँमा पहिरो गएको मकरबहादुरले बताए। ‘सकेजति पहिरो स्थानीयले हटाए,’ उनले भने, ‘सरकारबाट खासै केही सहयोग भएन।’ नागरिक दैनिकबाट


 

शनिबार १२ कात्तिक २०७९ ०८:४६ AM मा प्रकाशित

प्रतिक्रिया