गोरखा । गोरखा दरबारको दसैँघरबाट काठमाडौंको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७: ३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।
बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको छ । गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोकेर ल्याई गाडीमा राखेर पठाएका हुन् । गोरखा दरबारको दसैँघरबाट बाजागाजासहितको र्याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पुर्याएपछि आजै साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमान ढोका दरबारमा लगेर भित्र्याउने गरिएको छ । गोरखा दरबारको दसैँघरमा पनि आज साँझ हर्ष बढाइका साथ फूलपाती भित्र्याइन्छ ।
प्रतिक्रिया