काठमाडौँ। प्रभु बैंकको कर्जा प्रवाहसम्बन्धी अनियमितता र बैंकिङ कसुर मुद्दामा बैंककी मुख्य बिजनेस अफिसर (चिफ बिजनेस अफिसर - CBO) रश्मी पन्त पक्राउ परेकी छिन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो। पन्तलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन काठमाडौँ जिल्ला अदालतले २ दिनको म्याद थप गरिसकेको छ।
सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपमशमशेर जबराका अनुसार पन्तमाथि बैंकबाट प्रवाह भएको ४८ करोड रुपैयाँ कर्जा अनियमितता र दुरुपयोग गरेको अभियोग लागेको छ। रूपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको उक्त कर्जा प्रक्रियामा वित्तीय नियम उल्लंघन भएको पाइएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो।
रिसोर्ट निर्माण र जग्गा खरिदका लागि लिइएको कर्जा अन्य ऋणको बक्यौता तिर्न र व्यक्तिगत प्रयोजनमा डाइभर्ट गरिएको पाइएको छ। नेपाल राष्ट्र बैंकको विशेष स्थलगत निरीक्षणका क्रममा उक्त ४८ करोडको कर्जामा गम्भीर अनियमितता भएको तथ्य खुलेको थियो। बैंकको नाममा जग्गा दृष्टिबन्धक (Collateral) नै नगरी, पछि गर्ने कबुलियतनामाका आधारमा मात्रै करोडौँ ऋण स्वीकृत गरिएको अनुसन्धानमा देखिएको छ।
यही कर्जा दुरुपयोग प्रकरणमा संलग्न रहेको आरोपमा सीआईबीले एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष तथा व्यवसायी शशिधर शर्मा पौडेललाई यसअघि नै पक्राउ गरिसकेको छ। उनलाई गत असार ३० गते नियन्त्रणमा लिई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ।
अदालतले बुधबार मुख्य बिजनेस अफिसर पन्तलाई पनि सोही प्रकरणका अन्य अभियुक्तहरूको म्याद थपसँगै मिलान गरी हिरासतमा राख्न अनुमति दिएको हो। सीआईबीले कर्जा प्रवाह गर्ने निर्णय प्रक्रियामा सामेल बैंकका अन्य कागजात र अधिकारीहरूमाथि समेत छानबिन अगाडि बढाएको जनाएको छ।
प्रतिक्रिया