काठमाडौँ, १३ साउन -आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। यसै अवसरमा वेदलाई चार भागमा विभाजन गर्ने महर्षि वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि आजै मनाइँदैछ।
धार्मिक तथा तन्त्रशास्त्रका अनुसार 'गु' को अर्थ अन्धकार र 'रु' को अर्थ प्रकाश हुन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। हिन्दु दर्शनमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा स्वीकार गरिएको छ। 'आचार्यदेवो भव' भन्ने वैदिक मान्यताअनुसार माता–पिताजस्तै गुरुलाई पनि देवता समान मानेर सम्मान गर्ने परम्परा छ।
आजकै दिन सनातन धर्मका महान् कूटनीतिज्ञ तथा लेखक महर्षि वेदव्यासको जन्म भएकाले यस दिनलाई व्यास जयन्तीका रूपमा मनाउने गरिएको हो। उनले ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी वेदलाई चार भागमा विभाजन गरेका थिए। साथै, मानव कल्याणका लागि १८ पुराण र १८ उपपुराणको रचना समेत उनले गरेका थिए।
गुरु पूर्णिमाको अवसरमा आज देशभरका विद्यालय, गुरुकुल, विश्वविद्यालय तथा विभिन्न शैक्षिक र सामाजिक संस्थाहरूले विशेष कार्यक्रम आयोजना गरेका छन्। विद्यार्थी तथा अनुयायीहरूले आफ्ना गुरुजनहरूलाई मिठाई, फलफूल, वस्त्र र दक्षिणा अर्पण गरी आशीर्वाद लिइरहेका छन्।
प्रतिक्रिया