×

संसदभित्र सङ्घीयताविराेधी आवाजलाई राेक्नुपर्छ : प्रमाेद साह

images

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले प्रतिनिधि सभाभित्र सङ्घीयताविरोधी आवाजलाई रोक्नुपर्ने बताउनुभएको छ । 

आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद साहले प्रतिनिधि सभा बैठकमा विभिन्न पार्टीका नेताहरूले गणतन्त्र र सङ्घीयताको विरुद्धमा बोल्ने गरेको भन्दै खेद प्रकट गर्नुभयो । उहाँले आन्दोलनको बलमा आएको सङ्घीयतालाई कसैले हटाउन नसक्ने दाबी पनि गर्नुभयाे ।  

उहाँले भन्नुभयो, ‘अहिले पनि नेकपा (एमाले) काे नेतृत्वले सङ्घीयताविरोधी आवाज यो सदमा उठाइरहेकाे छ । सङ्घीयताविरोधी आवाज उठ्ने चेष्टा गर्‍याे भने यो देशका पीडित जनता, जनजाति, मधेशी लगायतका पीडितले आफ्ना अधिकार प्राप्तिका निम्ति लडेको यो अधिकार कुनै पनि हालतमा पछाडि पर्न दिने छैनन् ।’

सांसद साहले प्रतिपक्ष दल नेकपा (एमाले) का नेताहरूले सङ्घीयताविरोधी आवाज बोल्ने गरेको भन्दै त्यस्तो अभिव्यक्तिलाई रोक्न सभामुखले रुलिङ गर्नुपर्ने माग पनि गर्नुभयो ।

यस्तै एमालेका सांसद लालबाबु पण्डितले प्रशासनिक रूपमा सङ्घीयता कार्यान्वयन गर्न नसकेमा सङ्घीयतामाथि प्रश्न उठ्ने बताउनुभयो । उहाँले सरकारले सङ्घीय निजामती कर्मचारीसम्बन्धी विधेयक नल्याएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सरकार सङ्घीयताका पक्षमा रहेको भए चाँडै विधेयक ल्याउन माग गर्नुभयो । वर्तमान सरकार सङ्घीयताको मर्म र भावना विपरीत चलिरहेको उहाँको भनाइ छ ।

शुक्रबार​ १३ साउन २०७९ ०४:०१ PM मा प्रकाशित

प्रतिक्रिया