×

सिरहामा विद्युत् चुहावट सात प्रतिशत घट्यो

images

सिरहामा विद्युत् चुहावट सात प्रतिशतले घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७८÷७९ मा सिरहाको लहान क्षेत्रमा विद्युत् चुहावटमा कमी आएको हो । एक हजार ९७२ नयाँ ग्राहक थपिएका छन् ।  

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट घटेर २५ प्रतिशतमा झरेको हो । गत आर्थिक वर्ष २०७७÷७८ मा ३२ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७८÷७९ मा विद्युत् चुहावट २५ प्रतिशतमा झेरेको विद्युत् प्राधिकरण बितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिनुभयो । 

यस्तै आव २०७८÷७९ मा विद्युत्को महसुल नबुझाउने एक हजार ७९४ ग्राहकको विद्युत् लाइन काट्दा एक हजार ३५४ ग्राहकबाट रु पाँच करोड दुई लाख ६७ हजार बाँकी बक्यौता रकम असुली भएको प्रमुख यादवको भनाइ छ । त्यस्तै केन्द्रले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई पक्राउ गरी जरिवानाबापत रु १६ लाख ४१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । सो क्रममा ७९ विद्युत् उपकरणसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो । 

त्यस्तै विद्युत् मिटरबाट विद्युत् चोरी गर्ने १५ जनामाथि कारबाही गरी रु २१ लाख १७ हजार राजस्व सङ्कलन गरिएको केन्द्रले जनाएको छ । रिकनेक्सन दस्तुरबापत रु नौ लाख ८५ हजार राजस्व सङ्कलन भएको यादवले जानकारी दिनुभयो । आव २०७८÷७९ मा एक हजार नौ सय ७२ ग्राहक थपिएका छन् ।  योसँगै लहान क्षेत्रमा ग्राहकको सङख्या ६५ हजार तीन सय २४ पुगेको छ । यसअघि आव २०७७÷७८ वितरण केन्द्रले रु एक करोड ५० लाख राजस्व सङ्कलन गरेको थियो । 

शुक्रबार​ १३ साउन २०७९ ०९:१२ AM मा प्रकाशित

प्रतिक्रिया