×

टहराको छैन भर, फेरि पहिरोको डर

images

सिन्धुपाल्चोक । दुई वर्षअघि २०७८ असार १ देखि निरन्तर आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२, गणेशबगर क्षेत्रमा मात्र लगभग ३५ घर बगायो । त्यस क्षेत्रका स्थानीय कतिपयको घर पूरै भासियो त कतिपयको फेरि प्रयोग गर्न नसकिने गरी भत्किए ।

गणेशबगरका स्थानीय लीलाबहादुर ज्योतिले चार वर्षअघि १७ लाख रुपैयाँमा किनेको जग्गामा घर बनाएका थिए । घर बनाएको वर्षदिनमै घरजग्गा बाढीले बगायो । उनले भने, “घर बन्नासाथ छोराको विवाह गरिएको थियो । त्यही घर बाढीले भत्कायो । त्यसपछि एक वर्षका लागि भनेर अस्थायी बसोबास बनाइएको थियो । एक वर्ष त के तीन वर्ष भयो स्थायी बसोबासको कुनै वातावरण बनेको छैन ।” उनका श्रीमती, छोरा–बुहारी गरी चार जनाको परिवार छ ।

त्यहीँका स्थानीय ३५ वर्षीय कामी तामाङका श्रीमती र चार सन्तान गरी छ जनाको परिवार छ । फेरि वर्षात सुरु भएको छ । तर तत्काल बनाएको अस्थायी टहरा पनि उनको परिवारका लागि सुरक्षित छैन । उनले भने, “बालबच्चा छन्, बस्ने ठाउँ राम्रो सुरक्षित छैन । गर्मीमा धेरै गर्मी, जाडोमा धेरै जाडो हुन्छ । अस्थायी टहरा दिइएको छ । फेरि बर्खा लाग्दैछ, बाढी, पहिरो आउने डर छ ।”

सिन्धुपाल्चोकको निकै चल्ने बजारमध्ये हो– चनौटे बजार । हेलम्बु गाउँपालिका–७ का स्थानीय हस्त पण्डितका अनुसार यो बजार विगतमा मेलम्ची बजारभन्दा ठुलो कारोबार गर्ने व्यावसायिक बजार थियो । तर बाढीले तहसनहस बनाएपछि अहिले यो अस्ताएको छ । चनौटेमा रित्ता घर छन् । बाढीपछि सो बस्ती सुनसान बनेको छ । गोरखापत्र दैनिकबाट

बिहीबार १४ असार २०८० ०९:२६ AM मा प्रकाशित

प्रतिक्रिया