काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण उद्घाटन गरेकी छन् । सोमबार त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा उनले लिग सुरु भएको घोषणा गरेपछि उद्घाटन खेलमा काठमाडौँ गोर्खाज् र जनकपुर बोल्टसबीचको खेल शुरु भएको थियो । प्रधानमन्त्री कार्कीले केहीबेर उद्घाटन खेलको अवलोकन पनि गरेकी थिइन् । उद्घाटन खेलमा जनकपुरले टस हारेर पहिला ब्याटिंग गर्दै काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ । प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्दैछ ।
२- नेपाली कम्युनिष्ट पार्टीले देशैभर गर्ने एकता सन्देश सभाको तालिका सार्बजनिक गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्वपदाधिकारीको बैठकले प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको थियो । जस अनुसार नेपाली कम्युनिष्ट पार्टीले मङ्सिर १२ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा मङ्सिर १३ गते लुम्बिनी प्रदेशको दाङ देउखुरी, मङ्सिर १४ गते गण्डकी प्रदेशको पोखरा, मङ्सिर १५ गते कोशी प्रदेशको विराटनगर, मङ्सिर १८ गते उपत्यका बिशेष प्रदेशको काठमाडौं (हलमा), मङ्सिर १८ गते नै कर्णाली प्रदेशको सुर्खेतमा मङ्सिर १९ गते संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौं (हलमा ), मङ्सिर २० गते मधेश प्रदेशको जनकपुरमा मङ्सिर २१ गते प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम (नेपाली समय अनुसार बेलुकी ६ बजे), मङ्सिर २३ गते बागमती प्रदेशको हेटौंडामा एकता सन्देश सभा गर्ने भएको छ । त्यस्तै मंसिर २६ गतेसम्म प्रदेश कार्यालयहरुको निर्णयअनुसार सबै जिल्लाहरुमा एकता सन्देश सभाहरुको आयोजना गर्ने भएको छ भने मङ्सिर २९ गते देशभरका सम्पूर्ण स्थानीय पालिकाहरुमा एकता सन्देश सभाको आयोजना गर्ने भएको छ ।
३- बंगलादेशले भारतमा रहेकी शेख हसिना र असदुज्जमान खान कमलको सुपुर्दगीको माग गरेको छ । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएपछि बंगलादेशको विदेश मन्त्रालयले हसिना र कमललाई सुपुर्दगी गर्न माग गरेको हो । विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले फरार शेख हसिना र असदुज्जमान खान कमललाई दोषी ठहराएको उल्लेख गर्दै दुवै दोषीलाई तुरुन्तै बंगलादेशी अधिकारीहरूलाई सुम्पन भारतसँग माग गरेको छ । साथै बंगलादेशले मानवता विरुद्धको अपराधमा दोषी ठहरिएका यी व्यक्तिहरूलाई शरण दिने कुनै पनि देशले मित्रवत व्यवहार र न्यायको गम्भीर अवहेलना गर्ने कार्य हुने समेत बताएको छ । बंगलादेशको विदेश मन्त्रालयले भनेको छ- 'हामी भारत सरकारले दुवै दोषीलाई तुरुन्तै बंगलादेशी अधिकारीहरूलाई सुम्पन माग गर्दछौं । यो दुई देशहरू बीचको सुपुर्दगी सन्धि अन्तर्गत भारतको दायित्व हो ।' यसअघि पनि बंगलादेशले आधिकारिक रूपमा शेख हसिनाको फिर्ताको लागि अनुरोध गर्ने धेरै पत्रहरू पठाएको छ । यद्यपि, भारतले यी अनुरोधहरूको जवाफ दिएको छैन ।
४- प्रधानमन्त्री सुशीला कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषको एसिया तथा प्रशान्त विभागका निर्देशक डा कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन् । आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग श्रीनिवासनले शिष्टाचार भेट गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री कार्कीलाई बधाई दिनुका साथै उनले नेपालको विकास र आगामी निर्वाचनका लागि आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्राकोष तयार रहेको बताएका थिए ।
५- प्रधानमन्त्री सुशिला कार्कीले नागरिक समाजका अगुवाहरूलाई छलफल गरेकी छन् । सोमबार भएको छलफलमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूबीच अविश्वास बढेको र निष्पक्ष आवाजले समाजलाई जोड्ने सेतुको रूपमा नागरिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । उनले अहिले सरकार मुख्यतः तीनवटा मोर्चा संवैधानिक अडान, प्रशासनिक तयारी र बढ्दो युवा असन्तुष्टिमा सङ्घर्ष गरिरहेको बताएकी छन् । प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा मात्र नभएर यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको बताएकी छन् । उनले केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै, नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध गरेकी छन् । उनले निर्वाचन आयोगको कार्यक्षमता बढाउन हामी निर्वाचन आयोगको नेतृत्वसँग निरन्तर संवादमा रहेको र सरकारको प्राथमिकता 'सुरक्षा र सुशासन' भएको स्पष्ट गरेकी छन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनलाई हामीले केवल 'कानुन व्यवस्थाको विषय' मात्र नमानेको बताउदै यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति भएको र जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम देखेको उल्लेख गरिन् । यस निर्वाचनको सफलतामा मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर रहेको बताउदै प्रधानमन्त्री कार्कीले यसपटक असफल भएमा देश लामो राजनीतिक अन्योल र संवैधानिक सङ्कटमा धकेलिने चिन्ता प्रकट गरेकी छन् । उनले नागरिक समाजका नेताहरूको रूपमा सरकार र दलहरूबीच विश्वासको वातावरण बनाउन र आम जनतालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्नका लागि 'तेस्रो शक्ति' को रूपमा सक्रिय र निर्णायक भूमिका खेल्न नागरिक अगुवाहरुलाई आग्रह समेत गरेकी छन् ।
६- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले ढाका अदालतको निर्णयको कडा निन्दा गरेकी छिन् । उनले अदालतको निर्णयलाई 'पक्षपाती र राजनीतिक रूपमा प्रेरित' भनेकी छिन् । अदालतको निर्णयपछि शेख हसिनाले पाँच पृष्ठको विज्ञप्ति जारी गरेकी छिन् । त्यसमा भनिएको छ- 'मृत्युदण्ड भनेको राजनीतिक शक्तिको रूपमा अवामी लिगलाई अवैध बनाउने अन्तरिम सरकारको तरिका हो ।' अवामी लिग शेख हसिनाको पार्टी हो । यसअघि, शेख हसिनाले मुद्दालाई 'प्रहसन' भनेर वर्णन गरेकी थिइन् र आफूमाथि लगाइएका सबै आरोपहरूलाई अस्वीकार गरेकी थिइन् । उनले भनिन्- 'मलाई उचित न्यायाधिकरणमा मेरा अभियुक्तहरूको सामना गर्ने कुनै डर छैन, जहाँ प्रमाणहरूको वस्तुनिष्ठ रूपमा मूल्याङ्कन र जाँच गर्न सकिन्छ ।' उनले अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा यी आरोपहरू ल्याउन चुनौती दिइन् । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहको क्रममा शेख हसिनामाथि मानवता विरुद्धको अपराधको आरोप लगाइएको थियो । भारतमा निर्वासनमा बस्दै आएकी शेख हसिना विरुद्धको मुद्दा उनको अनुपस्थितिमा चलाइएको थियो ।
७- ऊर्जामन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन् । सोमबार एडिबी दक्षिण एशिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग भएको भेटमा मन्त्री घिसिङले दूधकोशीको वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा रहेकाले यसलाई तत्काल टुंगो लगाइनुपर्ने बताएका हुन् । आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब दुई खर्ब २५ अर्ब रुपैयाँ ) रहेको छ । यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी स्वपुँजीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ । एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ । आयोजनाको हाल निर्माणपूर्वका तयारीका काम भइरहेका छन् । भेटमा मन्त्री घिसिङले खानेपानी, सडक, सिँचाइ, विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका क्षेत्रमा लगानी बढाउन आग्रह गरे । काठमाडौं उपत्यकाका विभिन्न चोकको ट्राफिक व्यवस्थापनका लागि फ्लाइओभर, सुरुङमार्गलगायतको सम्भाव्यता अध्ययनका लागि आवश्यक सहायता उपलब्ध गराउन घिसिङले आग्रह गरे । उनले एडिबीको सहायतामा सञ्चालित आयोजनामा वन क्षेत्रका जग्गा प्रयोग एवम् रुख कटान, जग्गा प्राप्ति, ऐलानी जग्गाको क्षतिपूर्तिलगायत वातावरणीय तथा सामाजिक सुरक्षणका विषय कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने र कार्यान्वयन गर्ने निकायका संस्थागत क्षमता विकास गर्दै जाने बताए । सहायतामा सञ्चालित आयोजनाको खर्च गर्ने क्षमता बढाउन, जग्गा अधिग्रहण तथा ऐलानी जग्गाको क्षतिपूर्तिमा देखिएको समस्या समाधान गर्न, आयोजना कार्यान्वयन गर्ने निकायको क्षमता अभिबृद्धि गर्न एडिबीकातर्फबाट अनुरोध गरिएको थियो ।
८- नेप्सेमा सामान्य वृद्धि भएको छ । सोमबार नेप्से ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार ३५८ मा कारोबार भएको थियो । आज निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज बन्दीपुर केवलकारको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी, बुङ्गल हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जीको शेयर ९.९९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा साहास उर्जाको १८ करोड कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १६ करोड ५९ लाख बराबर कारोबार भएको छ ।
९- एएफसी यू-१७ एसियन कप छनोटमा भाग लिन म्यानमार प्रस्थान गर्ने राष्ट्रिय यू-१७ टोलीलाई एन्फाले बिदाई गरेको छ । खेलाडीलाई एन्फाका महासचिव किरण राई, पूर्व सह-सदस्य विकास नारायण श्रेष्ठ र पुरुषोत्तम थापा, सीईओ इन्द्रमान तुलाधर र प्रवक्ता सुरेश शाहले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई बिदाई गरेक हुन् । नेपाललाई छनोटको समूह जी मा सिरिया, ओमान, अफगानिस्तान र आयोजक म्यानमारसँगै राखिएको छ । नेपालले नोभेम्बर २२ मा सिरियासँग, नोभेम्बर २४ मा म्यान्मारसँग, नोभेम्बर २६ मा ओमानसँग र नोभेम्बर २८ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।
१०- नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले सोमबार अधिकारीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो । यस अघि डिआइजी इश्वर कार्की एआइजीमा बढुवा भएपछि रिक्त रहेको डिआइजीमा अधिकारीलाई बढुवा सिफारिस गरिएको हो ।
११- नेकपा एमाले निकट अनेरास्ववियुले अध्यक्ष डा. सुजन कडरियालाई हटाएको छ । सोमबार बसेको अनेरास्ववियुको बैठकले अध्यक्ष कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दिपक धामीलाई अध्यक्ष चयन गरेको छ । त्यस्तै अनेरास्वियुले उपाध्यक्ष अन्जना शिवाकोटीलाई महासचिव बनाएको छ । कडरियाले जेनजी आन्दोलनको समयमा भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा दिएपनि केहि दिन अघि जिम्मेवारीमा फर्किएको बताएका थिए । कडरियाले अनेरास्ववियुको निर्णयपछि सामाजिक सञ्जालमा सो निर्णय स्वीकार गर्दै आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तिता–मिठा क्षणहरू पनि औपचारिक रूपमा समाप्त भएको बताएका छन् । उनले भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा अन्त्य भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएको भन्दै निर्णयको सम्मान गर्ने बताएका छन् । उनले यससँगै, विद्यार्थीको हक–हित र अधिकारका पक्षमा बुलन्द स्वर उठाइरहने संगठन अनेरास्ववियु नै हो भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको बताउदै यस प्रक्रियामा पार्टीले कुनै हस्तक्षेप नगरेको र हाम्रो सार्वभौम कमिटीको सर्वसम्मतिले पारित गरेको निर्णयलाई उल्लासपूर्वक पालना गर्न देशभरका सबै देशभक्त विद्यार्थीसमक्ष अपिल समेत गरेका छन् ।
१२- अघिल्लो साताको नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार एक कार्तिक २९ गते शनिबारसम्म जारी-२ ले ४ करो ९२ लाख २२ हजार ९७६ ग्रस कमाई गरेको छ । त्यस्तै एक सातामा जारी-२ को कुल एक लाख ६२ हजार ३३३ टिकट बिक्रि भएको छ । त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले २ करोड ४३ लाख ३५ हजार ५८७ ग्रस कमाई गरेको छ । यस अवधिमा मन बिनाको धनले ९० हजार ५२६ टिकट बिक्रि गरेको छ । त्यस्तै अघिल्लो साता रिलिज भएको फिल्म परानले निरन्तर राम्रो कमाई गरिरहेको छ । परानले शनिबारसम्म ९ करोड ८६ लाख ९४ हजार ७६४ ग्रस कमाई गरेको छ । साथै परानले अहिलेसम ३ लाख ४७ हजार १७५ टिकट बिक्रि गरेको छ । परानले लगातार बक्स अफिसमा दर्शकको साथ पाएकोले त्यसअघि रिलिज भएको जेरी अन टपलाई चुनौती दिने देखिएको छ । जेरी अन टपले अहिलेसम्म १२ करोड ७ लाख ३४ हजार २४६ ग्रस कमाई गरेको छ । साथै जेरी अन टपले ३ लाख ८५ हजार ९२८ टिकट बिक्री गरेको छ ।
१३- आन्तरिक राजस्व विभागले उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । राष्ट्रिय कर दिवस–२०८२ का अवसर पारेर विभागले आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार क्षेत्रगतरुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ । त्यस्तै, एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल, वस्तु निर्यातको कारोवार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रालि, सूचना प्रविधि सम्बन्धी सेवामा सबैभन्दा बढी आयकर दाखिला गर्ने ओरिक्स नेपाल प्रालि र कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्ये गर्ने मध्ये पोषक ब्रिडर फार्म प्रालिलाई सम्मानित गरिएको छ । त्यस्तै, बैंकिङ र बीमा संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापार गर्ने संस्थातर्फ भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थामा आईएमई लिमिटेड सम्मानित गरिएको छ । यसैगरी व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सम्मानित गरिएको छ । वार्षिक कारोबारका आधारमा ५० करोडदेखि एक अर्बसम्मको कारोबार गर्नेमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड र ५० करोडसम्मको कारोबार गर्ने संस्थाका रूपमा भिएफ सर्भिसेज प्रालिलाई सम्मानित गरिएको छ । २०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । त्यस्तै गतवर्ष सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बाग्लुङलाई सम्मानित गरिएको छ ।
१४- साउदी अरेबियामा भारतीय तीर्थयात्रीहरू बोकेको बस दुर्घटनामा परेको छ । साउदी अरेबियाको जेद्दाहस्थित भारतीय महावाणिज्य दूतावासले दुर्घटनाको पुष्टि गरेको छ । मिडिया रिपोर्टका अनुसार दुर्घटनामा ४० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । तीर्थयात्री भारतको हैदरावादका भएको बताइएको छ । तेलंगाना राज्यका मुख्यमन्त्री रेवन्त रेड्डीले घटनाप्रति दुःख व्यक्त गर्दै हेल्पलाइन केन्द्र स्थापना गरेको जानकारी दिएका छन् । साउदीस्थित भारतीय महावाणिज्य दूतावासलेसाउदी अरेबियाको मदीना नजिकै भारतीय तीर्थयात्रीहरू संलग्न भएको दुखद बस दुर्घटना भएको र सो दुर्घटनालाई ध्यानमा राख्दै, जेद्दाहस्थित भारतीय महावाणिज्य दूतावासमा नियन्त्रण कक्ष स्थापना गरिएको जानकारी दिएको छ । प्रारम्भिक जानकारी अनुसार, मक्काबाट मदीना जाँदै गरेको बस डिजेल ट्यांकरसँग ठोक्किएर आगलागी भएको बताइएको छ । दुर्घटनामा ११ महिला र १० बालबालिका समेत परेको गल्फ न्यूजले उल्लेख गरेको छ । दुर्घटना बारे विस्तृत जानकारी आउन बाँकी रहेको छ ।
१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ५ सयले बढेर तोलाको २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३१५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१३५ मा कारोबार भएको थियो ।
१६- आर्थिक बर्ष २०८२-८३ को चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन भएको छ । कार्तिक मसान्तसम्म चार महिनामा ४ खर्ब २५ अर्ब २३ करोडको लक्ष्य रहेकोमा ७७.४९ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै कार्तिक महिनाको लक्ष्य एक खर्ब ३ अर्ब रहेकोमा ७८ अर्ब ३३ करोड राजश्व संकलन भएको छ, जुन ७५.४९ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा कार्तिक महिनामा ७६ अर्ब राजश्व संकलन भएको थियो । आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड संकलन भएको छ । यस अघि २०८१-८२ आर्थिक बर्षको चार महिनामा ३ खर्ब २९ अर्ब २ करोड राजश्व संकलन भएको थियो ।
१७- सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७-६८ देखि २०७९-८० मा सम्झौता भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । त्यसपछि सडक विभाग मातहतका कार्यालय रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए । सडक डिभिजन कार्यालय काठमाडौंबाट गत ११ कात्तिकमा ठेक्का तोड्न भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको कार्यालयका प्रमुख सुवोध देवकोटाले जानकारी दिए । कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने देवकोटाले बताए । निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको छ । ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लङ्घन,ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नगरेकाले सम्झौता रद्द गरिएको उल्लेख छ । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।
१८- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आगामी पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचन माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।
१९- नर्वे १९९८ पछि पहिलो पटक फिफा विश्वकपमा छनौट भएको छ । गएराती सम्पन्न समुह आइ अन्तर्गतको खेलमा इटालीलाई ४-१ गोल अन्तरले पराजित गर्दै नर्वे १९९८ पछि पहिलो पटक विश्वकपमा छनौट भएको हो । नर्वेको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने एन्टोनियो नुसा र जोर्गेन स्ट्रान्ड लार्सेनले एक एक गोल गरेका थिए । त्यस्तै इटालीका लागि एक गोल फ्रान्सेसको पियो एस्पोसिटोले गरेका थिए । यो जितपछि समुह आईमा नर्वेको ८ खेलमा २४ अंक भएको छ र अपराजित हुदै विश्वकपमा छनौट भएको छ । त्यस्तै इटालीको भने ८ खेलमा १८ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । नर्वेले यस अघि तीन पटक मात्र विश्वकप खेलेको छ । सन् १९३८ पछि १९९४ र १९९८ मा विश्वकप खेलेको नर्वे २७ बर्षपछि विश्वकपमा छनौट भएको हो । योसँगै युरोपबाट नर्वेसहित पोर्चुगल, क्रोसिया, इङल्याण्ड र फ्रान्स विश्वकपमा छनौट भएका छन् ।
२०- नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक फेरी सरेको छ । आज बस्ने भनिएको काँग्रेसको केन्द्रीय समितिको बैठक मङ्सिर ४ गते मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि शनिबार दिउँसो २ बजे बस्ने भनिएकोमा बैठक आज मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने गरि सारिएको थियो । कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । यसैबीच गत शुक्रबार राति काँग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचारपछि फर्किएकाले उनले विवाद समाधान गर्न छलफल शुरु गरेको र अझै सहमति हुन नसकेकोले बैठक सारिएको बुझिएको छ ।
प्रतिक्रिया