×

कालोसूचीमा रहेका व्यक्तिको उम्मेदवारी रद्द

images

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका क्रममा देखिएका ११ प्रकारका विवाद टुङ्ग्याएर नामावली प्रकाशित गरेको जनाएको छ । ७ सय ५३ पालिकाका निर्वाचन अधिकृतहरुले उम्मेदवार विरुद्ध परेका उजुरीहरुको जाँचबुझ गरी हिजो नामावली प्रकाशित गरेका हुन् । 

यसअघि आयोगले उम्मेदवारका सम्बन्धीमा परेका उजुरीलाई निरुपण गर्न ११ बुँदे निर्देशन दिएको थियो । एउटै दलको दुईभन्दा बढी उम्मेदवारी परेको ठाउँमा दलको केन्द्रीय कार्यकारिणी समितिको प्रमुख पदाधिकारीले उम्मेदवार यकिन गर्न निर्वाचन अधिकृतलाई दिएको पत्रलाई आधार मानिएको छ । 

कुनै दलले मेयर र उपमेयर वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको भए दुवै उम्मेदवारी खारेज गर्न पनि निर्देशन दिइएको आयोगले जनाएको छ।

यस्तै मनोनयन पत्र दर्ता गर्ने उम्मेदवारको नाममा बेरुजु रहेको सम्बन्धमा उम्मेदवारको नाममा किटानीसाथ असुल उपर गर्नुपर्ने भनी महालेखा परीक्षकको कार्यालयबाट बेरुजु औँल्याइएको अवस्थामा बाहेक मनोनयन पत्र सदर गरिएको छ । कालोसूचीमा रहेका व्यक्तिहरुको उम्मेदवारी भने रद्द गरिएको आयोगले जनाएको छ । 

शुक्रबार​ १६ बैशाख २०७९ ११:३३ AM मा प्रकाशित

प्रतिक्रिया