×

त्रिभुवन विमानस्थलका सरसफाइकर्मीसमेत सुन तस्करीमा

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई जना सरसफाइकर्मीसहित पाँच जना कर्मचारी सुनको अवैध ओसारपसारको आरोपमा पक्राउ परेका छन् । उनीहरूमार्फत दुई किलो तीन सय ३२ ग्राम अवैध रूपमा ल्याइएको सुन भन्सार छलेर बाहिरिन लागेको थियो । त्यसको बजार मूल्य झन्डै दुई करोड रुपैयाँको हुन्छ । उनीहरू मतियारका रूपमा काम गरी विदेशबाट अवैध रूपमा ल्याइएको सुनलाई विमानस्थल कटाउने काममा सहभागी भएको पाइएको हो । 

घटनामा संलग्न रहेको आरोपमा दुई विमान सरसफाइकर्मी र एक सुपरभाइजरसहित पाँच जनालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा पाँचथरका भीमकुमार माबो, नुवाकोटका सुमन तामाङ, उदयपुरका राजेश राई, दोलखा घर भएका ट्याक्सी चालक हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालीमार्फत विमानभित्र सरसफाइ गर्ने/गराउने भनी सुपरभाइजरका रूपमा खटिएका सप्तरीका ताराकान्त चौधरी रहेका छन् ।  

सुन विदेशबाटै विमानको शौचालयमा राखेर पठाइएको थियो । त्यो सूचना यहाँका सरसफाइकर्मीमा प्राप्त भएपछि सेटिङ गरेर पास गर्न लागिएको थियो । भित्रबाट पास गर्न सरसफाइकर्मी परिचालन गरिएको र त्यहाँबाट बाहिर लैजानका लागि अरू व्यक्ति परिचालन भएका थिए । सुन ल्याउनमा को सक्रिय थिए र कसले पठाएको भनेर खुली नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसपछि उनीहरूले तामाङलाई बोलाएर फोहरसँगै रहेको सुन आ–आफ्नो खल्तीमा लुकाइ विमानस्थलबाट बाहिरिन लाग्दा प्रहरीले पक्राउ गरेको हो । 

शुक्रबार​ १६ बैशाख २०७९ ०४:५८ PM मा प्रकाशित

प्रतिक्रिया