×

रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० सम्मेलनमा निमन्त्रणा 

images

जाकार्ता,- रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० शिखर सम्मेलनमा निमन्त्रणा गरिएको छ । 

इन्डोनेसियामा हुने तय भइसकेको सम्मेलनका लागि उहाँहरूलाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले निमन्त्रणा गर्नु भएको हो । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई इन्डोनेसियाका राष्ट्रपति विडोडोले फोन समेत गरेर निमन्त्रणा गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

उहाँहरूलाई यसअघि सम्मेलन आयोजक देशको रुपमा इन्डोनेसियाको तर्फबाट औपचारिक पत्र पनि पठाइसकिएको कार्यालयद्वारा शुक्रबार जारी वक्तव्यमा लेखिएको छ । 

“मैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई सम्मेलनमा सहभागिताका लागि अनुरोध गरेको छु,” राष्ट्रपति विडोडोले भन्नुभयो ।

उहाँले वार्ता र सम्झौता मार्फत रुससँगको युद्ध अन्त्य गर्न पनि आग्रह गरेको समेत जानकारी दिनुभएको छ । 

फोन वार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू सम्मेलनमा सहभागी हुने आश्वासन दिनु भएको विडोडोले बताउनु भएको छ । 

विश्वका प्रभावशाली विकसित देशहरूको समूहको रुपमा चिनिँदै आएको जी २० समुहको सदस्य रुस पनि हो । तर युक्रेन भने सदस्य छैन ।

शुक्रबार​ १६ बैशाख २०७९ ०८:४३ PM मा प्रकाशित

प्रतिक्रिया