×

अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध

images

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दिगो विकास लक्ष्य र जलवायु लक्ष्य हासिल गर्न उत्थानशील एवं दिगो शहर निर्माण गरी नयाँ शहरी ‘एजेन्डा’को प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । 

नयाँ शहरी एजेन्डाको कार्यान्वयन मूल्याङ्कनसम्बधी संयुक्त राष्ट्रसङ्घीय महासभाको उच्चस्तरीय बैठकलाई बिहीबार न्यूयोर्कमा सम्बोधन गर्दै उहाँले दिगोपन र समानताको भावनाले निर्देशित योजनाबद्ध शहरीकरणले शहरमा मर्यादित रोजगारी, आर्थिक वृद्धि र लगानीका अवसर ल्याउने बताउनुभयो ।

 नयाँ शहरी एजेन्डाअनुरूप नेपालले शहरीकरणका लागि राष्ट्रिय मापदण्ड निर्धारणका साथै  राष्ट्रिय रणनीति र निर्देशिका लागू गरेको, आवास अधिकार ऐन–२०१८ कार्यान्वयन कार्यान्वयन  गरेको तथा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’अन्तर्गत तीन हजारभन्दा बढी घर निर्माण गरी असुरक्षित अवस्थामा रहेका परिवारलाई हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो । 

 सन् २०४५ सम्ममा नेट–शून्य उत्सर्जन लक्ष्य हासिल गर्ने नेपालको प्रतिबद्धताबारे जानकारी दिँदै शहरी विकासमन्त्री झाँक्रीले प्रदूषण, फोहर व्यवस्थापन र स्वच्छ ऊर्जा प्रवद्र्धन गर्न वातावरणमैत्री सहरी विकास योजनामा जोड दिनुभयो । 
 
नेपाल भूकम्पीय जोखिममा रहेको र विगतमा अतिशक्तिशाली कम्पन भएकाले पुराना शहरी क्षेत्रलाई भविष्यमा हुने भूकम्पबाट जोगाउन प्रवलीकरण र सुदृढीकरणमा विशेष ध्यान दिइएको उहाँले बताउनुभयो । नयाँ शहरी एजेन्डा कार्यान्वयनका लागि राष्ट्रसङ्घीय प्रणालीलगायत विकास साझेदारलाई वित्तीय र प्राविधिक सहयोग सुनिश्चित गर्न उहाँले आह्वान गर्नुभयो । 

शुक्रबार​ १६ बैशाख २०७९ ०२:२६ PM मा प्रकाशित

प्रतिक्रिया