×

गठबन्धनभित्रका दलले अहङ्कार राख्नु हुँदैन : अध्यक्ष नेपाल

images

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आबद्ध दलहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ । आज शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

अध्यक्ष नेपालले गठबन्धनभित्रका दलले अहङ्कार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताउनुभयो । पालिका चुनावकाे उम्मेदवारीमा कतिपय ठाउँमा तल–माथि भएको सन्दर्भमा गठबन्धनभित्र समीक्षा हुने पनि अध्यक्ष नेपालले बताउनुभयो । उहाँले भन्नुभयो – ‘उम्मेदवारीको बारेमा तल–माथि भएको होला कतिपय ठाउँमा । हाम्रा दुखेसाहरू होलान् । आलोचना पनि होलान् हाम्रा गठबन्धनका अन्य पार्टीहरूप्रति । त्यो आफ्नो ठाउँमा हामी विवेचना गरौँला । त्यस्तो गर्न हुँदैन पनि भनाैँला ।’

अध्यक्ष नेपालले वैशाख ३० गते हुने पालिका चुनावका लागि मनोनयन दर्ताकै क्रममा आफ्नाे पार्टीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताउनुभयाे । उहाँले एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट दुई जना गाउँपालिका अध्यक्ष, एक जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाध्यक्ष र २६ जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पालिका चुनावका लागि हाम्राे पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विराेध निर्वाचित भइसकेका छन् । कलम चिह्न बाेक्नेसँग प्रतिस्पर्धा गर्न कसैले आँट गरेन ।’

अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीकै निरन्तरता भएकाले जनतामा परीक्षण भइसकेको पार्टी भएको बताउनुभयो । अध्यक्ष नेपालले पार्टीको सङ्गठनलाई टोल–टोलसम्म विस्तार गर्न पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । 

शुक्रबार​ १६ बैशाख २०७९ ०४:२० PM मा प्रकाशित

प्रतिक्रिया