×

भरतपुर महानगरपालिका- फिर्ता भएन पौडेलको उम्मेदवारी

images

भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको उम्मेदवारी कायम भएको छ ।  फिर्ता लिने अन्तिम समय आज साँझ ५ बजेसम्म उहाँको उम्मेदवारी फिर्ता नभएको हो । 

उम्मेदवारी फिर्ता नलिन दबाब दिँदै पौडेल निवासमा बिहानैदेखि नेता कार्यकर्ताको भीड लागेको थियो । पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता रेनु दाहाल भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवार हुनुहुन्छ । पौडेलले आफ्नो उम्मेदवारी रुख तथा चारतारे झण्डा विरुद्ध नभएर लोकतान्त्रिक पद्धतिको प्रयोग र प्रवद्र्धनमा केन्द्रीत रहेकाले फिर्ता नलिएको बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता नभएको बताउनुभयो ।  नेकपा (एमाले)का तर्फबाट महानगरमा विजय सुवेदी प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ ।  

पौडेलले उम्मेदवारी दिँदा नेपाली कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा प्रस्तावक र कांग्रेस महासमिति सदस्य मीना खरेल समर्थक रहनुभएको छ । पौडेल विसं २०४९ सालको स्थानीय चुनावमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । वरिष्ठ अधिवक्ता पौडेल राष्ट्रियसभाको सदस्य भइसक्नुभएको छ । 

शुक्रबार​ १६ बैशाख २०७९ ०८:१६ PM मा प्रकाशित

प्रतिक्रिया