×

निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण : विष्णु पौडेल

images

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गर्ने बताएका छन् । सोमबार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यो निर्वाचनमा कसैको पनि बहुमत नआउनु दुर्भाग्य रहेको उल्लेख गरेका हुन् । साथै उनले  एमालेको नेतृत्वबिना मुलुकले सही निकास पाउन नसक्ने बताए ।

सम्पन्न निर्वाचनमा एमालेले बहुमत नपाए पनि मुलुकको विकास, समृद्धि र सहि निकासको लागि सरकारको नेतृत्वको अधिकतम पहल गर्ने बताए। रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले पत्रकार सम्मेलनमा बोल्दै बहुमत नपाए पनि सरकारको नेतृत्वको लागि अधिकतम प्रयास गर्ने बताए। ´नेकपा एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास पाउँदैन, मुलुकको सहि निकासको लागि एमालेले सरकारको नेतृत्वको अधिकतम प्रयास गर्छ,´ उनले भने।

उपाध्यक्ष पौडेलले निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताए। राजनीतिक स्थायित्वको लागि कुनै पनि दलको बहुमत आउनुपर्ने भए पनि अहिलेको जनमतले राजनीतिक स्थायित्वप्रति आशंका उब्जाएको उनले बताए।

‘राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएको हो, एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन। अरु कुनै दलले पनि बहुमत पाउन सकेनन् जुन मुलुकको लागी दुर्भाग्य हो,` उनले भने, ‘कुनै दलको बहुमत नआउँदा मुलुक अस्थिरताको चक्रव्युहमा फस्ने खतरा छ।’  

नवनिर्वाचित पौडेलले आम मतदातालाई धन्यवाद पनि दिए । नेकपा एमालेलाई पराजित गरेर संसद्मा कमजोर बनाउन चाहने शक्तिहरूले एमालेका कयौँ संसद्मा आउनै पर्ने नेताहरूलाई हराएको उनले टिप्पणी गरे । हार बेहोरेका नेताहरूले संसद् बाहिरबाटै पनि महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । नेकपा एमालेले मुलुकको समृद्धिको लागि मुख्य पहलकदमी लिने उनले बताए । उनले सरकारको नेतृत्व एमालेले गर्ने अवसर मिलेमा अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने बताएका छन्।

सोमबार १२ मंसिर २०७९ १२:०० PM मा प्रकाशित

प्रतिक्रिया