×

क्याम्पस प्रमुख हरिभूषण हत्याका मुख्य आरोपी सुरेन्द्रप्रसाद कुशवाहा पक्राउ

images

काठमाडौं। रामराजा बहुमुखी क्याम्पस बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। गत ३२ जेठमा कुशवाको हत्या भएको थियो। उनको हत्यामा संलग्नरही फरार भएका सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। कुशवाहाले जग्गा सम्बन्धी विवादमा कुशवाहाको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य अभियुक्त कुशवालाई बारा प्रहरीले पक्राउ गरेको हो । 

आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थितको घरबाट फर्किने क्रममा गोली प्रहार गरीको उनको हत्या गरिएको थियो । त्यसबेलादेखि फरार मुख्य अभियुक्त कुशवाहालाई गएराति पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । 

प्रहरीको विशेष टोलीले कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको उनले पुष्टि गरेका छन् ।  सुरेन्द्र नेपाली सेनाका भगौडा हुन् । २०६० सालमा नेपाली सेनामा भर्ना भएका सुरेन्द्र २०७० मा जागिर छाडेर भागेका थिए । त्यसपश्चात उनी गाउँघरमा उच्छृङ्खल तथा त्रसित बनाउने गतिविधिमा सक्रिय रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सुरेन्द्रले मिटरब्याजमा ऋण लगानी गर्ने गरेका थिए भने अर्काको ऋण पनि असुलि गरिदिने जिम्मा लिने गरेका थिए । त्यतिमात्र होइन उनले परपञ्चायत गराइदिने ठेक्का लिने, डराउने धम्काउने जस्ता गवितविधि गर्ने गरेको पृष्ठभूमि पाइएको छ ।  गएको ३२ जेठमा घरबाट फर्किने क्रममा रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार भएको थियो । 

घाइते कुशवाहाको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । गोली लागेपछि घाइते भएका क्याम्पस प्रमुख कुशवाहा त्यही बेला मृत्युकालीन घोषणा गरेका थिए । गोली प्रहारबाट घाइते भएपछि कुशवाहाले त्यसबखत सर्वसाधारणबाट भिडिओ रेकर्ड गर्न लगाएका थिए । जहाँ उनले भनेका थिए, ‘गाउँकै सुरेन्द्र कुशवाहाले आफूमाथि गोली प्रहार गरेको छ, व्यक्तिगत रिसिबीका कारण गोली प्रहार गर्‍यो ।’ यही मृत्युकालीन भिडिओलाई आधार मानेर प्रहरीले मुद्दा दर्ता गरी खोजविन सुरु गरेको थियो । 

अनुसन्धानको क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणिप्रसाद कुशवाहा, चाँदशीप्रसाद कुशवाहा, सुमेदकुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्यज्या मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान–२, गोली थान– ७ राउण्ड, मोटरसाइकल थान ४, मोबाइल थान– ४ थान, ल्यापटप थान– २, सिम कार्ड थान– ७ बरामद भएको थियो ।
 

बिहीबार १३ मंसिर २०८१ १२:१७ PM मा प्रकाशित

प्रतिक्रिया