×

परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान

images

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान गरेकी छिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा राणा आज मध्यान्न चीन भ्रमणका लागि प्रस्थान गरेकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ थिए।

भ्रमणका क्रममा मन्त्री डा. राणाले शुक्रबार सिचुआन प्रान्तस्थित छेन्दु सहरमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप उनी चीन गएकी हुन्। प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीन भ्रमणमा जाँदैछन्। परराष्ट्रमन्त्री शनिबार नेपाल फर्किने कार्यक्रम छ।

चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन योजनालाई लिएर सत्तारूढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच कुरा मिलिरहेको छैन। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले चीनबाट प्रस्तावित कार्यान्वयन योजना स्वीकार्य नरहेको स्पष्ट सन्देश दिइसकेको छ।  दुई दलबीच साझा धारणा बनाउन संयुक्त कार्यदलले पनि काम गरिरहेको छ। उक्त कार्यदलमा बीआरआई कार्यान्वयन योजनाको सट्टा ‘फ्रेमवर्क एग्रिमेन्ट’का लागि गृहकार्य भइरहेको छ।

बिहीबार १३ मंसिर २०८१ ०२:२६ PM मा प्रकाशित

प्रतिक्रिया