काठमाडौँ । अभिनेताबाट नेता बनेका विजयको र्यालीमा भारतको तमिलनाडुको करूरमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।
तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारले भागदौडमा ३९ जनाको मृत्यु भएको र कुल ९५ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनद्वारा जारी विज्ञप्तिमा मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्तिको घोषणा गरिएको छ ।
अभिनेता विजयले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले आफू गहिरो पीडामा रहेको पनि बताएका छन् । घटनाको अनुसन्धान गर्न सेवानिवृत्त उच्च अदालतका न्यायाधीश अरुणा जगदीसनको नेतृत्वमा एक सदस्यीय अनुसन्धान आयोग गठन गरिएको छ । शनिबार साँझ विजयले करूरमा तमिलनाडु भेट्टी कढगम पार्टीको र्यालीलाई सम्बोधन गरिरहेको बेला भागदौड हुदा धेरै मानिसहरु बेहोस बनेका थिए ।
विजयले भनेका छन्- 'मेरो मन भाँचिएको छ। म शब्दहरूले वर्णन गर्न नसक्ने असह्य पीडा र दुःखमा छु । करुरमा ज्यान गुमाउने हाम्रा प्रिय दाजुभाइ दिदीबहिनीहरूका परिवारहरूप्रति म गहिरो समवेदना र सहानुभूति व्यक्त गर्दछु । अस्पतालमा उपचार गराइरहेकाहरूको शीघ्र स्वास्थ्यलाभको लागि म प्रार्थना गर्दछु ।'
मिडिया रिपोर्टका अनुसार ३० हजारको सभा गर्न अनुमति दिइएकोमा ६० हजार भन्दा बढी उपस्थित भएका थिए । त्यस्तै तोकिएको समयभन्दा अभिनेता विजय ६ घण्टा ढिलो गरि सभामा आएको बताइएको छ । दिउसो ३ बजेदेखि राती ११ बजेसम्मका लागि अनुमति दिइएकोमा बिहान ११ बजेदेखि नै मानिसहरुको भिड लागेको थियो । अभिनेता विजय साँझ ७ बजेमात्र सभा स्थलमा पुगेर आफ्नो भषण शुरु गरेका थिए । लामो समयको भोक, प्यास र भिडका कारण यो घटना भएको विश्लेषण गरिएको छ ।
दुर्घटनापछि तमिलनाडुका मुख्यमन्त्री स्टालिनले जिल्लामा आपतकालीन प्रोटोकल लागू गर्न आदेश दिएका छन् । यद्यपि, मृत्यु हुनेको संख्या बढ्न सक्ने भनिएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले दुर्घटनामा शोक व्यक्त गरेकी छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा शोक व्यक्त गरेका छन् ।
प्रतिक्रिया