×

कोशीमा एमाले र कांग्रेसबीच मिल्यो भागबन्डा

images

काठमाडौं ।  कोशी प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलेको छ। भागबन्डाअनुसार एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा कांग्रेसले चार मन्त्रालय पाउनेछ। यसैगरी केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले मुख्यमन्त्री लिने सहमति भएको छ।

प्रदेश सांसद पराजुलीका अनुसार दुवै दलका नेताहरूको शनिबार काठमाडौंमा सम्पन्न बैठकले सरकारको नेतृत्व आलोपालो गर्नेसँगै मन्त्रालय भागबन्डाको विषयमा सहमति गरेका हुन्।

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाबीचको बैठकले मुख्यमन्त्रीमा आलोपालोसहित प्रदेशमा चार–चार वटा मन्त्रालय लिने गरी सहमति गरेको छ। यी दुई दलका नेताहरूले मुख्यमन्त्री पदमा दुवै दलले आलोपालो गर्ने र त्यसको समयको निर्धारण केन्द्रीय गठबन्धन अनुसार गर्ने सहमति भएको छ। 

शुक्रबार नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएर सरकार छाडेलगत्तै शनिबार काठमाडौंमा मुख्यमन्त्री  कार्की र कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री  थापासहितका नेताहरुको छलफलले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो।

कांग्रेस संसदीय दल नेता उद्वव थापाका अनुसार प्रदेश सरकारमा कांग्रेस र एमालेले ४/४ मन्त्रालय पाउने सहमति भएको छ। कांग्रेसले माओवादीले छाडेको मन्त्रालय पाउनेछ। 

नेता थापाका अनुसार कांग्रेसले पाउने चारमध्ये तीन मन्त्रालय टुंगिसकेको छ। भौतिक पूर्वाधार, स्वास्थ्य र वन, वातावरण तथा पर्यटन मन्त्रालय कांग्रेसले पाउने छ। त्यस्तै मुख्यमन्त्री कार्कीले सामाजिक विकास र कृषिमध्ये एउटा मन्त्रालय कांग्रेसलाई छानेर लिन भनेका छन्।

आइतबार​ १३ साउन २०८१ ०९:०३ AM मा प्रकाशित

प्रतिक्रिया