नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको चुनावी हार अस्थायी मात्र भएको टिप्पणी गरेको छ। हालैको आवधिक निर्वाचनमा पराजय बेहोरे पनि आफ्नो पार्टी मुलुकको मूल विचार र राजनीतिको संवाहक भएकाले पुनः देशको प्रमुख प्रतिस्पर्धी शक्तिका रूपमा उदाउने दाबी नेकपाले गरेको हो। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलाल (शरद) ले सत्तारुढ दल रास्वपालाई लक्षित गर्दै संसद्मा बलियो पुनरागमन गर्ने चेतावनी दिनुभयो।
"हामी आवधिक चुनावमा यो पटक तपाईंहरूसँग हारेका हौँ, सधैँका लागि हारेका होइनौँ। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउने छौँ," प्रमुख सचेतक दुलालले भन्नुभयो, "दायाँ आसनमा फेरि अरू पनि बस्न आइपुग्न सक्छन् भन्ने कुरा सत्तारुढ दलले हेक्का राखोस्।"
सांसद दुलालले संसदीय राजनीतिमा संख्याको उतारचढाव सामान्य र आवधिक परिणाम मात्र भएको उल्लेख गर्नुभयो। कम्युनिस्ट आन्दोलन र विचारको गहिराइलाई कसैले नजरअन्दाज गर्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, "वास्तविकता के हो भने हामी विचारका बीउ हौँ। विचार सही भए र समयसापेक्ष परिमार्जन भए यसले सिंगो समाजलाई प्रभाव पार्न सक्छ। जसरी एउटा सानो झिल्कोले सिंगो जंगल सखाप पार्न सक्छ, त्यसरी नै कम्युनिस्ट विचार पुनः जागृत हुनेछ।"
उहाँले नेपालका प्रगतिशील, लोकतान्त्रिक एवं वामपन्थी जनमतलाई गोलबन्द गर्दै देशको नेतृत्व गर्ने आफ्नो पार्टीको सपना र दृढताबाट विचलित नभएको प्रस्ट पार्नुभयो। नवीन विचार, नेतृत्व र देश विकासको नयाँ पहलकदमीसहित स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट राष्ट्र निर्माणमा अगाडि बढ्ने नेकपाको संकल्प रहेको उहाँको भनाइ थियो।
संसद्मा बोल्ने क्रममा प्रमुख सचेतक दुलालले सरकारको नेतृत्व गरिरहेको दल रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन र त्यसबाट पारित दस्ताबेजप्रति गम्भीर आशंका व्यक्त गर्नुभयो। रास्वपाको राजनीतिक प्रतिवेदनले संघीयता र प्रदेशसभा खारेजीको बहस छेडेको तर्फ संकेत गर्दै उहाँले भन्नुभयो, "उहाँहरूको दस्ताबेजबाट लोकतन्त्रको आधारलाई नै हल्लाउने गन्ध आइरहेको छ। यसप्रति हामी पूर्ण रूपमा सचेत छौँ।"
लोकप्रियताको नारा दिएर जनमत हासिल गरेको शक्तिले स्थापित गणतन्त्रात्मक संरचनालाई कमजोर बनाउन खोजेको भन्दै उहाँले नेकपाले यस किसिमका 'कपट र षडयन्त्र' विरुद्ध सशक्त भूमिका खेल्ने बताउनुभयो। यद्यपि, उहाँले रास्वपाको नयाँ केन्द्रीय कार्यसमिति र नेतृत्वलाई सफल कार्यकालको बधाई भने ज्ञापन गर्नुभयो।
प्रतिक्रिया