×

काँग्रेस केन्द्रीय समिति बैठक सुरु, स्थानीय निर्वाचनमा तालमेलको निर्णय लिने

images

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए । आजको बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने बताईएको छ।  

स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन् । बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ ।शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म  ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ सुनाएका छन् 

आजको बैठकमा पदाधिकारीले धारणा राख्दैछन् । कांग्रेसमा १४ जना पदाधिकारी छन् । धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् । सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको पक्षमा र नेता शेखर कोइराला समूहका नेताहरुले तालमेलको विपक्षमा मत राखेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिएका छन् । बैठकमा संसदीय समिति गठबन्धनको एजेण्डा रहेपनि छलफल गठबन्धन केन्द्रित छ ।

बैठक आज सकिए पनि निर्णय भने भोलि (मंगलबार) मात्रै सार्वजनिक हुनेछ । 

सोमबार १४ चैत २०७८ ०१:११ PM मा प्रकाशित

प्रतिक्रिया