×

ओली-देउवाबीच बालुवाटारमा वार्ता

images

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।

नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताउनुभएको पनि उनले जानकारी दिए। सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार चाँडै ढल्ने दाबी गरेका छन्। उनले कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार बन्नेसमेत घोषणा गरेका छन्। तर, आज भएको भेटवार्तामा दुवै दलका नेतृत्वहरुले गठबन्धन दायाँबायाँ नहुने विश्वास दिलाएका छन्।

प्रधानमन्त्री ओली र देउवा भेटवार्तामा बसेकै दिन कांग्रेस सांसद माया राई पक्राउ परेकी छिन्। उनी काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा फरार थिइन्। उनलाई आज साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनकै निवास कपनबाट पक्राउ गरेको हो।

आइतबार​ १४ बैशाख २०८२ ०८:१७ AM मा प्रकाशित

प्रतिक्रिया