×

निर्वाचन विशेष- महिला र विपन्नलाई नेतत्व तहमा ल्याउने महिला उम्मेदवारको प्रतिवद्धता

images

सङ्घीय संरचनामा गएपछि देश अहिले दोस्रो तहको स्थानीय तहको निर्वाचनको सङ्घारमा छ । वैशाख ३० मा हुन गइरहेको निर्वाचनमा मतदाताहरुको विश्वास जित्न उम्मेदवारहरु यतिबेला आ–आफ्ना योजनाहरु लिएर घरघर पुग्न थालेका छन् । 

पाँच वर्षअघि भएको पहिलो स्थानीय तहको निर्वाचन पछि ऐन, कानून र नियमहरु बनिसकेकाले अब आउने जनप्रतिनिधिलाई यसमै अल्मलिनुपर्ने अवस्था भने छैन । तैपनि उम्मेदवारहरु आ–आफ्नै प्रकृतिका योजना लिएर घरदैलो पुगिरहेका छन् । पाल्पाका महिला उम्मेदवारहरुले महिला परनिर्भरता, क्षमता अभिवृद्धि, स्वरोजगारमूलक कार्यक्रम जस्ता योजनालाई अघि सारेका छन् ।

‘जग बलियो भएमा घर बलियो बन्छ’ भनेझै महिला आर्थिक तथा शैक्षिक क्षेत्रमा बलियो हुदै गए घरपरिवार, गाउँ, समाज र अन्ततः देश नै बलियो बन्छ । महिला परनिर्भरता अन्त्य गर्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरी आर्थिक पक्ष दरिलो बनाउने बताउनुहुन्छ, बगनासकाली गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार सुनिता अधिकारी । नेपाली काङ्ग्रेसका तर्फबाट अध्यक्षको उम्मेदवार बन्नुभएकी अधिकारी महिलालाई आर्थिक रुपमा बलियो बनाउन सकियो भने घरपरिवार खुशी रहने मात्र हैन गाउँटोल र पूरै समाजको सबल हुने बताउनुहुन्छ । 

“महिला परनिर्भर हुँदा उनीहरु अझै पनि दबिएकै छ, अब महिलालाई भान्छाभित्रै सीमित नराखी नेतृत्व पङ्क्तिमा ल्याउने खालका कार्यक्रमको जरुरी छ, यदि मैले नेतृत्व गर्ने अवसर पाएँ भने महिलालाई पुरुष सरह नै नेतृत्वमा ल्याउने छु,” उहाँले भन्नुभयो । अहिले पालिकाका लागि चाहिने नीतिनियम, ऐन र कानूनहरु निर्माण भइसकेका छन् । विकासको रुपरेखा कोरिएको छ । सडकहरु स्तरोन्नति गर्ने, बालमैत्री स्थानीय शासन कायम गर्ने, जनताको जीवनस्तर उकास्न कृषिमा लगानी वृद्धि गर्ने, सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने, शिक्षामा पहुँच बढाउने र प्रविधिमैत्री शिक्षा प्रणाली ल्याउने जस्ता उहाँका चुनावी योजना छन् । बगनासकालीमा करिव ६० प्रतिशत घरधुरीमा ‘एक घर एक धारा’ अभियान अन्तर्गत धारा पुगेको छ भने बाँकी घरहरुमा सो योजना विस्तार गर्ने उहाँको प्रतिबद्धता छ । 

उहाँ भन्नुहुन्छ – “नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक स्तर उकास्न चुनावी मैदानमा होमिएको छु । महिलाले नेतृत्व गर्ने अवसर पाएमा उनीहरुका समस्या बाहिर आउनेछन् । हरेक क्षेत्रमा महिला सहभागिता बढाएर उनीहरुलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने दिनेछु र आर्थिक रुपमा सक्षम र अब्बल बनाउनेछु” । 

अधिकारीले २०५७ सालदेखि निरन्तर रुपमा नेपाली काङ्ग्रेसमा आबद्ध रहेर राजनीति गर्दैआउनुभएको छ । स्वतन्त्र विद्यार्थी युनियनको सदस्य, नेपाल विद्यार्थी सङ्घ पाल्पाको जिल्ला सभापति, नेपाल महिला सङ्घको जिल्ला सचिव हुँदै काङ्ग्रेसको हाल महासमिति सदस्य तथा जिल्ला कार्यसमितिको सचिवको जिम्मेवारी बहन गर्दै आउनुभएको छ ।

 सरस्वतीदेवी चिदीले नेकपा (एमाले)को तर्फबाट बगनासकालीको अध्यक्ष पदको निर्वाचनमा उम्मेदवारी दिनुभएको छ । पालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएर पाँच वर्ष कार्य गरेको अनुभव सङ्गाल्नुभएका कारण उहाँलाई पार्टीले अध्यक्ष पदमा सर्वसम्मत उम्मेदवार बनाएको हो ।“आफूले निर्वाचित भएर काम गर्ने अवसर पाएको खण्डमा महिलालाई सीपमूलक तथा उनीहरुको क्षमता विकास गर्ने खालका कार्यक्रममा जोड दिनेछु, क्षमतावान् भएर पनि महिला भएकै कारण नेतृत्व तहबाट पछाडि पारिएका छन्, महिलामा नेतृत्व क्षमताको विकास गर्ने र उनीहरुलाई स्वरोजगार बनाउने खालका कार्यक्रममा मेरो जोड रहने छ,” उहाँले भन्नुभयो । 

अवसर पाए महिलाले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सक्ने उहाँको तर्क छ । घरधन्दा, छोराछोरीको स्याहार जस्ता सबै जिम्मेवारी महिलाको काँधमा छ । यी जिम्मेवारी निभाउँदै गर्दा पनि सामाजिक, राजनीतिक तथा विभिन्न क्षेत्रमा यहाँका महिलाको अग्रसरता उत्साहजनक नै मान्नुपर्दछ । 

यतिखेर महिला पुरुष सरह नै नेतृत्व लिने कसरतमा छन् । नेपाली समाजमा भरसक नेतृत्व तहमा पुरुष नै हुनुपर्छ भन्ने आम बुझाइ छ । विगतको तुलनामा अहिले महिला नेतृत्व सम्हाल्न जुर्मुराएको देखिएको छ ।

उपाध्यक्ष चिदीले पाँचवर्षको अवधिमा पालिकाका सबै वडामा समन्वय समिति, पालिकास्तरीय महिला सञ्जाल, महिला सशक्तीकरणका लागि विभिन्न तालिम सञ्चालन गरेर उनीहरुको आयस्तर वृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । 

बगनासकाली गाउँपालिकामा चार महिलासहित सात जनाको अध्यक्ष पदमा उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवार अम्बिका पाण्डेय, जनता समाजवादी पार्टीबाट मीनाकुमारी गाहा, मङ्गोल नेशनल अर्गनाइजेशनबाट टोपबहादुर खाम्चा, जनमुक्ति पार्टीबाट नारायणबहादुर कुँवर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पेउनारायण न्यौपानेको उम्मेदवारी परेको छ । 

तिनाउ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष पदका उम्मेदवार इन्द्रा चिदी सामाजिक तथा आर्थिक रुपमा पछाडि परेका सर्वहारा तथा श्रमजीवी नागरिकको हितमा काम गर्ने बताउनुहुन्छ । आफू नेतृत्वमा पुगेमा घरेलु हिंसामा परेका महिलाको न्यायका लागि लड्ने, महिलालाई नेतृत्व तहमा ल्याउने, विभिन्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने उहाँ बताउनुहुन्छ । 


उहाँ भन्नुहुन्छ – “महिला नेतृत्व पङ्क्तिमा भएमा कार्यक्रमले बढी प्राथमिकता पाउने र महिला सहभागिता बढ्ने हो । आर्थिक रुपमा विपन्न, घरेलु हिंसामा परेका, दलित, जनजाति वर्गका महिलाको क्षमता विकास गर्दै उनीहरुलाई हरेक निकायमा नेतृत्व गर्न सक्ने बनाउनु नै आजको आवश्यकता हो ।” 

एमालेले जिल्लाका ८१ वडामध्ये एक वडामा मात्रै महिला वडाध्यक्ष चयन गरेको छ । अन्य वडामा वडाध्यक्ष पदका उम्मेदवार पुरुष नै छन् । काङ्ग्रेसले भने सबै वडामा पुरुषलाई नै वडाध्यक्षको उम्मेदवार बनाएको छ । 

चिदी २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा सोही वडाको महिला सदस्यमा निर्वाचित भएकी हुन् र जिल्ला समन्वय समितिको सदस्य पदमा रहेर काम गरेको अनुभव उहाँसँग छ । उहाँको प्रतिष्पर्धीमा गठबन्धनको तर्फबाट वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का गणेश रासकोटी हुनुहुन्छ । एक कार्यकाल काम गरेको अनुभवले पार्टीभित्रबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष पदको उम्मेदवार बन्न उहाँलाई अवसर मिल्यो । 


स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४) मा लेखिएको छ – ‘उपदफा (१) बमोजिम मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।’ 


पालिकाको अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदमध्ये एक पदमा महिला अनिवार्य भनिए पनि उपाध्यक्ष, उपप्रमुख पदमा मात्रै महिला सीमित छन् । केही पालिकामा भने प्रमुख पदमा महिलाको नेतृत्व छ । पाँचवर्षको कार्य सम्पादनलाई हेर्दा महिलाले पालिकाको नेतृत्व गर्ने  जिम्मेवारीलाई कुशलतापूर्वक निभाएका पाइएको छ ।

बुधबार १४ बैशाख २०७९ ११:५९ PM मा प्रकाशित

प्रतिक्रिया