×

अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला

images

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको पुत्ला जलाएको छ । 

प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि उनीहरूले शिक्षामन्त्री खनालको पुत्ला जलाएका हुन्। निजीलाई पोसेको, गरिब विद्यार्थीको खिलाफमा रहेको आरोप लगाउँदै अनेरास्ववियुले पुत्ला जलाएको हो ।

उनीहरूले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन् । शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए ।

निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने विद्यार्थी नेताको तर्क छ ।

शिक्षा मन्त्रालयले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरेको थियो । पाठ्यपुस्तकको अभाव कम गर्न भन्दै आगामी शैक्षिक सत्र २०८० का लागि पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरेको थियो। सोही आधारमा पाठ्यक्रम विकास केन्द्रले निजी मुद्रण संस्थालाई सूचीकरण हुन आह्वान गरेको छ।

शुक्रबार​ १३ माघ २०७९ ११:१० AM मा प्रकाशित

प्रतिक्रिया