काठमाडौं । नेकपा (एमाले) को बाँके जिल्ला कमिटीले लुम्बिनीका प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले बताए।
सांसद चौधरीले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलको मानहानि गरेको आरोप लगाइएको छ। यसबारे उनीसँग स्पष्टीकरण पनि सोधिएको र चित्तबुझ्दो जबाफ नदिएकाले उनलाई निलम्बन गरिएको बाँके जिल्ला अध्यक्ष निरक गुरूङले बताए।
पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसायका साथ केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानी हुने गरी पार्टीका मूल्य, मान्यताविपरीत सार्वजनिक रुपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने जस्ता गतिविधि निरन्तर गरेपछि पार्टी विधानको धारा ८(३) र (४०) बमोजिम स्पष्टीकरण सोधिएकोमा कमीकमजोरी महसुस गर्नुको साटो नेता, कार्यकर्ता र समग्र पार्टीविरुद्ध लिखित जवाफ दिएपछि विधानको धारा ८१ (७) को अनुशासनको कारवाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जिल्ला अध्यक्ष गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङले भने, “लगातार पार्टी नेता र पार्टीविरुद्ध गतिविधि जारी राखेपछि निलम्बनको कारबाही गर्न बाध्य भएका छौं ।” प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा एमालेको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य थारु लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पूर्वमाओवादी सेनामा रहेका थारु नेकपा विभाजनपछि एमालेमै रहेर प्रदेश कमिटीको उपसचिव भएका थिए ।
पछिल्लो समय उनले मंसिर ७ मा एमालेले काठमाडौंमा गरेको जागरण सभाको विरूद्धमा फेसबुकलगायत सामाजिक सञ्जालमा विरोध गरेका थिए।
प्रतिक्रिया