काठमाडौं। सर्लाहीको हरिपूर्वामा एक युवकले गोली हानेर पत्नीको हत्या गरेका छन्। छाेराले प्रहार गरेकाे गाेली लागेर युवकका बुवा पनि घाइते भएका प्रहरीले जनाएको छ।
गएराति पौने २ बजे हरिपूर्वा नगरपालिका- ५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। पारिवारिक विवादका कारण श्रीमान्ले गोली चलाउँदा श्रीमतीको घटनास्थलमा मृत्यु भएको हो भने ५४ वर्षीय बुवा रामदिनेश राय घाइते छन् ।
सर्लाही प्रहरीका अनुसार उनको बायाँ हातमा गोली लागेको छ । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
आफ्नै बुवा र श्रीमतीलाई गोली हान्ने व्यक्तिको खोजी कार्य भइरहेको सर्लाही प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए । उनका अनुसार गोली हान्ने व्यक्तिको पहिचान भइसकेको छ, तर अनुसन्धान चलिरहेकोले नाम भने प्रहरीले खुलाएको छैन । प्रहरीले घटनास्थलमा प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद गरेको छ । हतियार भने फेला नपरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले सुनाए ।
‘टाउको र आँखामा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले भने, ‘हातको कुइँनामा गोली लागेर धिरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश यादव घाइते छन्। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।’
प्रहरीका अनुसार कुवेतबाट फर्किएदेखि नै धिरेन्द्रले पत्नीसँग झगडा गरेका थिए। त्यसपछि घरमा २/३ दिन बसेर उनी भारततिर गएका थिए। त्यसयता घर नफर्किएका उनी गएराति मोटरसाइकलमा एकजनालाई साथमा लिएर घर आएका थिए।
मध्यराति घरमा पुग्नासाथ उनले गोली प्रहार गरेर पत्नीको हत्या गरेका हुन्। बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा ससुरालाई पनि गोली लागेको अनुमान प्रहरीले गरेको छ। गोली लागे पनि युवकका बुवाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घिरेन्द्र र चित्रलेखाका एक छोरी छन्। उनी भने सकुशल छिन्।
प्रतिक्रिया