×

फर्पुमा पहिरोबाट तीन किशोरीको मृत्यु

images

काठमाडौं ।  रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं-६ फर्पुको पहिरे भन्ने स्थानमा बिहीबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ । स्थानीय बिमा तामाङ्गको घरमाथिबाट आएको पहिरोले पुरेर घरभित्र आगो ताप्दै गरेका उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा १७ बर्षकी सिता तामाङ्ग, १४ बर्षकी आसिका तामाङ्ग र १३ बर्षकी लक्ष्मी तामाङ्ग रहेका छन् ।

स्थानीय गोपी तामाङ्गका अनुसार रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घरभित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको हो । घट्नालगत्तै स्थानीयहरु जम्मा भएर उद्धारमा जुटेका थिए । पहिरोले घर पुरिएको सूचना पाउना साथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेतको उद्धार टोली गाउँतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिए ।

घट्नास्थलतर्फ गएको उद्धार टोलीलाई खिम्ति नजिकैको छत्तिवने खोलामा आएको बाढीले रोकेर घट्नास्थलसम्म जान कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक प्रदीपकुमार सिंहले बताए । घट्नास्थलमा बेताली प्रहरी चौकीका प्रहरी उद्धारमा पुगेको स्थानीयहरुले जानकारी दिएका छन् ।

शुक्रबार​ ११ साउन २०८१ ०८:१९ AM मा प्रकाशित

प्रतिक्रिया