×

संसदमा देउवालाई ओलीको पश्न – ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?

images

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिमा अडिग नभएको बताउनुभएको छ । संसदमा बोल्दै ओलीले नेपालको परराष्ट्र नीति अहिलेको गठबन्धन नामको पासा फ्याँकेर ल्याएको सरकारले ल्याएको नीति भन्दै व्यङ्ग्य गर्नुभएको छ । 

वर्तमान सरकारलाई अस्थायी सरकार भन्दै नेपालको परराष्ट्र सम्बन्ध म्यादी सरकारको निजी विषय नभएको पनि उहाँले बताउनुभयो । नेपालको परराष्ट्र नीतिले निम्त्याउन सक्ने जोखिमको बारेमा सरकार सचेत नभएको पनि उहाँले आरोप लगाउनुभयो । विदेशी मन्त्री आउँदा सरकार थुरथुर काँप्ने गरेको भन्दै परराष्ट्र नीतिसँगको व्यवहारले नेपाली अखंडताको रक्षा कसरी गर्न सकिन्छ भन्दै ओलीले प्रश्न गर्नुभएकाे छ ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गर्दै भन्नुभयाे, 'सरकारले छद्म नीति लिएकाे देखियाे, हामी एकातिर एक चीन नीतिमा छ भन्छौँ । नेपाल हाम्रा छिमेकीहरुसँग मुखले एउटा कुरा र व्यवहारमा अर्को कुरा गर्ने गर्छन्, नेपाल एक चीन नीतिमा छ कि छैन ?'

यस्तै ओलीले वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाउनु भएको छ ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले मूल्य वृद्धिको पवृत्ति अभूतपूर्व रहेको भनदै टिप्पणी गर्नुभयो । एमाले अध्यक्ष ओलीले पालिका चुनावको भोट हालेको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हानेको बताउनुभयो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको एक हप्ता पनि नपुग्दै फेरि अर्को मूल्य वृद्धि गरेर सरकारले नागरिकलाई पटक पटक डण्डाले हिर्काउने काम गरेको टिप्पणी गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य बढेपछि ढुवानीको भाडा स्वत: बढ्ने भएकाले नागरिकले हरेक वस्तुमा महंगीको मार खेप्नु परेको बताउनुभयो ।

बिहीबार १२ जेठ २०७९ ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया