काठमाडौँ —चिकित्सा व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। केही दिनअघि प्रसाईंले सामाजिक सञ्जालमा जेनरेशन जेड (Gen Z) आन्दोलनका शहीद रसिक खतिवडा र उनकी आमा (सांसद रचना खतिवडा) लाई लक्षित गरी अपमानजनक टिप्पणी गरेको आरोप छ।
प्रसाईंले ‘छोराको लाससँग सांसद पद साटेको’ भन्दै सामाजिक सञ्जालमा लाञ्छना लगाएपछि सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमै रोएर आपत्ति जनाएकी थिइन्। त्यसपछि उनले आफ्नो र शहीद परिवारको मानमर्दन भएको भन्दै साइबर ब्युरोमा निवेदन दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो।
विभिन्न अभिव्यक्ति र विवादका कारण प्रसाईं यसअघि पनि पटक-पटक पक्राउ पर्दै आएका छन्। पछिल्लो समय उनी गत साउन १८ गते सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए। भदौ ४ गते पनि प्रहरीले उनको घरमा खानतलासी गरी केही सामान जफत गरेको थियो, जुन पछि सर्वोच्चको आदेशमा फिर्ता गरिएको थियो। हाल साइबर ब्युरोले प्रसाईंमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) अन्तर्गत आवश्यक अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया