×

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने , परराष्ट्रमन्त्री आरजु राणा पूर्वतयारीका लागि चीन जादै

images

काठमाडौं ।   प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ । चिनियाँ प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् । मंसिर १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री छ्याङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री छ्याङसँगको भेटवार्तामा दुई देशबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत हुने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओली मंसिर १९ गते बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने र नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीहरूसँग छलफल गर्नेछन् । प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्किने भ्रमण तालिका प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ प्रधानमन्त्रीले दिवाभोज आयोजना गर्नेछन् भने चिनियाँ जनमुक्ति सेनाको गार्ड अफ अनरसहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले स्वागत गर्नेछ । प्रधानमन्त्री ओलीको भ्रमण तालिका मन्त्रिपरिषदको बैठकले भ्रमण स्वीकृत गर्न बाँकी छ ।

साथै परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । मंसिर १३ देखि १५ गतेसम्म उनले चीन भ्रमण गर्ने मन्त्रिपरिषद् बैठकले सोमबार निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि २१ गतेसम्म हुन लागेको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि राणा चीन जान लागेकी हुन् । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीसँगै चीनमा रहने र सँगै फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबार १० मंसिर २०८१ ०८:४२ PM मा प्रकाशित

प्रतिक्रिया