×

धरहरा परिसरबाट कालापत्थरको ढुङ्गा राखिएको एनपीएलको ट्रफी सार्वजनिक

images

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरिएको छ । सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र ८ टिमका मार्की खेलाडीले धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आज विशेष दिन भएको बताए ।  प्रधानमन्त्री ओलीले भने, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’

प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन प्रवर्द्धन पनि गर्ने विश्वास व्यक्त गरे । सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न नसकेको पनि उनले बताए । ‘सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्न सकेको छैन, त्यसमा मलाई चित्त बुझेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘गर्नुपर्ने जति प्रोत्साहन गर्न सकेको छैन ।’ ट्रफीमा माथिल्लो भागमा कालापत्थरको ढुङ्गा राखिएको नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले जानकारी दिए।

आगामी मंसिर १५ गतेदेखि हुने एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। पुस ६ गते फाइनल हुने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको यस नेपाल प्रिमियर लिग (एनपिएफ) हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो। प्रतियोगितामा काठमाडौं गोरर्खाजसँगै लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी छन्। प्रतियोगिताको उद्घाटन खेल यही मंसिर १५ गते विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

सोमबार १० मंसिर २०८१ १०:४८ AM मा प्रकाशित

प्रतिक्रिया