×

राष्ट्रपति भण्डारी विरुद्ध रिटको पेसी हरि फुयालको इजलासमा

images

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीश हरि फुयालको इजालसमा तोकिएको पेसी आठौँ नम्बरमा राखिएको छ । संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् । 

विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मागसहित पाँच वटा रिट निवेदन दर्ता भएको छ । रिट निवेदनमा संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक प्रमाणीकरण नहुनु संविधान विपरीत रहेको भन्दै राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाइएको छ । विधेयक प्रमाणीकरण गर्न आदेश दिन माग गर्दै परेको रिटको सुुनुवाइका लागि गत शुक्रबार पेसी तोकिएको थियो।

राष्ट्रपति भण्डारीलाई विधेयक प्रमाणीकरण गराउन परमादेश/उत्प्रेषण आदेश माग गरिएको रिटको आइतबार हुने सुनुवाइ सूचीमा ८औँ नम्बरमा राखिएको छ। अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा. सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिकुमार यादव र देव शर्माले भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गराउन उत्प्रेषण परमादेश मागेका छन्।  
 

आइतबार​ ९ असोज २०७९ १२:४६ PM मा प्रकाशित

प्रतिक्रिया