×

पक्राउ पर्छु भनेर डराएको छैन, म गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय आएको छु - सभापति रवि लामिछाने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू पक्राउ पर्छु भनेर नडराएको बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले संसदीय छानबिन समितिले प्रतिवेदनमा गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका हुन् ।

फेसबुक लाइभमा देखिएका उनले आफू झोला भिरेरै गिरफ्तारी दिन तम्तयार रहेको पनि बताए । गोर्खा मिडियाका तत्कालीन सञ्चालक एमव् पूर्वडीआईजी छविलाल जोशीको बयानबाट आफूलाई पक्राउ गर्न सकिन्छ भन्ने प्रयासमा सरकार लागिरहेको उनले बताए । ‘छविलाल जोशीको बयानबाट पनि मलाई पक्राउ गर्न सकिने बाटो सरकारले खोजिरहेको छ’, उनले भने, ‘म गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय आएको छु ।’

उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापातिर लक्षित गर्दै सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि नभएकाले अब राजनीतिक कसले छाड्ने भन्ने द्विविधा आएको पनि बताए ।

‘सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभए राजनीति नै छाड्छु भन्नेहरू पनि थिए’, उनले भने, ‘अरुले राजनीति नछाडे पनि आफू सहकारी ठग पुष्टि भएको भए राजनीति छोडिदिन तयार भएर बसेको छु ।’

यसअघि महामन्त्री थापाले सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभएमा राजनीति छाड्न तयार रहेको बताएका थिए । यस्तै सभापति लामिछानेले संसदीय छानबिन समितिका सभापति सूर्यबहादुर थापाले पनि आफूलाई दोषी नभएको बताएको उल्लेख गरेका छन् । त्यसअघि प्रहरीले पनि सहकारीमा आफूलाई दोषी नदेखाएको उनले बताए ।   

मङ्गलबार ८ असोज २०८१ ०८:२४ PM मा प्रकाशित

प्रतिक्रिया