×

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए शपथ, संसदीय दलका नेता लीला गिरीले दिए पदबाट राजीनामा

images

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज (बुधबार) आफ्नो शपथसँगै मन्त्रिमण्डल विस्तार गरेका छन्। उनले कांग्रेस र एमालेका गरी ८ जना प्रदेश सांसदलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।

मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन । साना दलहरुलाई पनि समेट्ने प्रयास भइरहेकाले केही दिनपछि मात्र जिम्मेवारी तोकिने स्रोतले बतायो । लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थन छ ।संविधान धारा १६८ को उपधारा ९ बमोजिम आजै मुख्यमन्त्री आचार्यको सिफारिसमा नियुक्त आठजना बिनाविभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्री आचार्यले आजै एमालेबाट चारजना र कांग्रेसबाट चारजना बिनाविभागीयमन्त्री नियुक्तिको सिफारिस गराएका थिए । प्रदेश प्रमुख शेरचनले एमालेका भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसका सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपानेलाई बिनाविभागीय मन्त्रीको शपथ गराएका हुन् । नवनियुक्त मन्त्रीहरूको दुवै दलबीच सहमतिपछि मात्र विभागीय जिम्मेवारी तोकिने  छ ।

मुख्यमन्त्री नपाएपछि असन्तुष्ट बनेका नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले पदबाट राजीनामा दिएका छन्। दलको नेता छोडेर उपनेतालाई मुख्यमन्त्री बनाउन एमाले केन्द्रबाट निर्देशन आएपछि उनी असन्ष्ट छन्। बुधबार दलको उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि दलको नेता लीला गिरी राजिनामा दिएका हुन्। उनी अन्य पदमा भने यथावत् रहेको कँडेलले जानकारी दिए। उनी एमालेको पोलिटरो सदस्य सदस्यसमेत हुन्।

बुधबार ९ साउन २०८१ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया