×

दोलखाको भीमसेनको शिलाको मूर्तिमा आयो फेरि पसिना

images

काठमाडौं । दोलखाको भीमसेनको शिलाको मूर्तिमा आज बुधबार फेरि पसिना आएको छ । आजभन्दा पाँच दिन अगाडि शनिबार पनि शिलामा पसिना आएको थियो। मन्दिरका कोषाध्यक्ष सुरेश श्रेष्ठका अनुसार बुधबार १२ः२५ बजेदेखि ३ बजेर १३ मिनेटसम्म शिलाको मूर्तिको पूरै भागमा पसिना आएको छ।

आस्थाको पख्यात भीमसेनको शिलामा पसिना आएमा मुलुकमा अनिष्ट हुने धार्मिक विश्वास रहिआएको छ । गत शनिबार पसिना आएपछि तान्त्रिक विधिबाट पूजा, आराधना गरिएको थियो। शिला मूर्तिको दायाँ भागमा पसिना आएमा राष्ट्र प्रमुख वा सरकारलाई अनिष्ट हुने र बायाँ भाग वा पूरै शिलामा पसिना आयो भने देश र देशवासीलाई भयंकरअनिष्ट हुने स्थानीय बूढापाकाहरू बताउँछन् । यसअघि विभिन्न मिति र सालमा दोलखा भीमसेनलाई पसिना आउँदा मुलुकमा ठूल्ठूला राजनीतिक घटना वा प्राकृतिक आपदा आएको संयोगजन्य रेकर्ड छ ।

भीमसेनलाई पसिना आएको सन्दर्भमा कोषध्यक्ष श्रेष्ठले भने ‘१९८४ सालदेखि दोलखा भीमसेनलाई पसिना आएको रेकर्ड छ। यसरी पसिना आउनुलाई सूचकको रूपमा लिनु पर्दछ । पसिना आउनु नराम्रै हुन्छ र अशुभै हुन्छ भन्ने छैन।’ उनले शनिबार शिलामा पसिना आउँदा कपासले पुछेको उक्त कपास राष्ट्र प्रमुखलाई पठाउने परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेल महाप्रसारको रूपमा हस्तान्तरण गरिएको र त्यसकोबापत राष्ट्रप्रमुखले क्षमा पूजा उठाउने चलनस्वरूप यही साउन ११ गते क्षमा पूजा गर्न लागिएको जानकारी दिए ।

बुधबार ९ साउन २०८१ ०८:५३ PM मा प्रकाशित

प्रतिक्रिया