×

ढल्यो एमाले नेतृत्वको लुम्बिनी सरकार

images

रुपन्देही । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ।  बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो।   प्रदेशसभामा रहेका ८७ सांसदहरूमध्ये ३३ जना मात्र उनको पक्ष र ५३ जना विपक्षमा रहेकोले सभामुख तुलाराम घर्तीले अस्वीकृत भएको घोषणा गरेका छन् ।

सभामुख घर्तीले यो सँगै सदनको बैठक अर्को सूचनामार्फत बोलाउने भन्दै स्थगित भएको जानकारी गराएका छन् । चैत १२ गते लुम्बिनीमा रहेका ८ दलका ५३ सांसदहरूले कांग्रेस दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने दाबीसहित प्रदेश प्रमुखलाई पत्र बुझाइसकेका छन् ।

यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो ।  लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ भने मुख्यमन्त्रीलाई सत्ता टिकाइराख्न ४४ सांसदको आवश्यक रहेको थियो । तर, उनले बहुमतका लागि आवश्यकभन्दा कम मत पाएका हुन् ।

आजको मतदानमा एक सांसद भने उपस्थित भएनन् । पुस २७ गते लुम्बिनीको माओवादी केन्द्रसहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरिले फागुन ५ गते पहिलो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। 

केन्द्रमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग गठबन्धन गरेपछि लुम्बिनी प्रदेशमा पनि त्यसको असर परेको हो। गत चैत १२ गते गिरि नेतृत्वको लुम्बिनी सरकारलाई साथ दिएका माओवादी केन्द्र सहित ६ दलले समर्थन फिर्ता लिएका थिए।

सोमबार ११ बैशाख २०८० ०१:१९ PM मा प्रकाशित

प्रतिक्रिया