×

रवि लामिछानेसहितका सबै सहकारी ठगीसम्बन्धि मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा

images

काठमाडौं । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहितका सबै सहकारी ठगीसम्बन्धि मुद्दा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा परेको छ ।

प्रहरीले रास्वपा सभापति रवि लामिछानेदेखि ढोरपाटन नगरपालिकाका मेयर देवप्रसाद नेपालीसम्मको मुद्दा एउटै मुद्दाको रूपमा दर्ता गरेको छ । मुद्दामा ४१ जना प्रतिवादी छन् । राईको इजलासमा आज यो एउटा मात्र मुद्दा पेशी सूचीमा छ ।

यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने, छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका प्रतिवादीको बयान सुरु हुने जानकारी दिए।

पहिले प्रतिवादीहरूको बयान सुरु हुने र बयान सकिएपछि मात्र थुनछेकको आदेश हुने उनले बताए। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन्। यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उनले बताइन्।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो। ७४ करोड ३४ लाख ७१ हजार बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो।

प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ बिगो बी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिए।

सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ।

सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ। सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।

उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन्।

सोमबार ८ पुस २०८१ ०१:३४ PM मा प्रकाशित

प्रतिक्रिया