×

सिरियल किलर चार्ल्स शोभराज छुटे, केही समय नेपालमै बस्ने इच्छा

images

काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका छन् । बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ ।

तर, शोभराजले केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् । सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

शोभराजमाथि ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो। २०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि  मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो। 

कैदमुक्त भए पनि शोभराज अध्यागमनकै निगरानीमा हुने देखिएको छ। अध्यागमन विभागले पनि उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने बताएको छ। चार वर्षअघि नै शोभराज उमेरले ७४ वर्ष पुगिसकेका थिए । कारागार नियमावलीअनुसार शोभराजले आफू छुट्नुपर्ने दाबी गर्दै यसअघि पनि पटकपटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए ।

तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा आदेश हुने गरेको थियो । अदालतले १२ फागुन २०७५ मा मुटु सम्बन्धी रोगको नियमित उपचार समेत गराइरहेका शोभराजले ७५ प्रतिशत कैद भोगिसकेकाले किन कैद सजाय मिनाहा किन नगर्ने भन्दै सरकारलाई प्रश्न गरेको थियो ।

पछिल्लो पटक फेरि बन्दी प्रत्यक्षीकरणको रिट पर्‍यो । उनले १९ वर्ष अर्थात् ९५ प्रतिशत जेल सजाय पनि भोगेका थिए । त्यसको सुनुवाइका क्रममा बुधबार न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले सर्वोच्चको परामादेश कार्यान्वयनमा वेस्वाता गरेको नोट गर्‍यो । र, केन्द्रीय कारागारले ७ असार २०७९ मा उनीबारे पठाएको पत्रलाई पनि आधार बनाउँदै थुनामुक्त गर्न आदेश दिएको थियो ।

शुक्रबार​ ८ पुस २०७९ ०१:१७ PM मा प्रकाशित

प्रतिक्रिया